विराटनगरः २४ घण्टाको अवधिमा प्रदेश १ मा ९५ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका कुल ५ मध्ये सबैभन्दा धेरै मोरङमा ४५ र सुनसरीमा ३७ जनामा संक्रमण पुष्टि भएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार झापामा ९, संखुवासभामा २ र प्रदेश १ बारिहका २ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशको राजधानी रहेको विराटनगरमा थप ४२ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार २१ महिला र २१ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मोरङको लेटाङमा १ महिला, पथरीशनिश्चरे र रंगेलीमा १–१ पुरुषमा संक्रमण देखिएको छ । सुनसरीको दुहवीमा १४ पुरुष, ईटहरीमा ४ महिला र ४ पुरुष, इनरुवामा १ महिला र ५ पुरुष, धरानमा १ महिला र ५ पुरुष, बर्जुमा २ र गढीका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापाको कन्काईमा २ महिला र ६ पुरुष, झापा गाउँपालिकामा १ पुरुष, संखुवासभाको खाँदबारीमा १ पुरुष, स्थानीय तह नखुलेकी १ महिला तथा प्रदेश १ बाहिरका १ महिला र १ पुरुषमा कोरोना संक्रमण देखिएको छ । प्रदेशमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या ३ हजार ३११ पुगेको छ ।
प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । मृत्यु हुनेमा प्रदेश १ स्थायी ठेगाना भएका २३ जना छन् । ९ जना अन्य प्रदेशको रहेको मन्त्रालयले जनाएको छ । आइतबार मात्र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धरान १७ का आमा छोराको ५२ मिनेटको अन्तरमा कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
प्रदेश १ मा आइतबार ९ जना डिस्चार्ज भएका छन । उनीहरु सबै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भएको मन्त्रालयले बताएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ५३४ पुगेको छ । आइतबार प्रदेशमा १ हजार १७६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३२ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मन्त्रालयका अनुसार हालसम्म ८७ हजार ५ सय ९८ जनाको पीसीआर परीक्षण गरिसकिएको छ ।