इटहरीः इटहरीमा सय वेडको आइसोलेसन निर्माणलाई तिव्रता दिइने भएको छ । उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा सुनसरीका प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख,शशस्त्र र नेपाली सेनाका प्रतिनिधि,उद्योग वाणिज्य संघ समेतको उपस्थितिमा वसेको वैठकले इटहरी ९ रंगशालामा निर्माण भइरहेको आइसोलेसनलाई चाँडै संचालनमा ल्याउने गरि काम गरिने निर्णय भएको हो ।
इटहरीमा समेत संक्रमित वढदै गएकाले लक्षण नदेखिएका संक्रमितहरुलाई राख्नका लागि आइसोलेसन निर्माण थालिएको हो । आइसोलेसन निर्माणका लागि प्रदेश सरकारले २० लाख सहयोग गरेको छ । खानेपानी,विद्युत लगायतका विभिन्न निकायहरुको सहयोगमा खानेपानी र विद्युतिकरणको कार्य भइरहेको छ ।
आइसोलेसन निर्माण र संचालनमा ठूलो खर्च आवश्यक हुने भएकाले विभिन्न संघसस्था र दाताहरु सँग सहयोगको आग्रह गरिएको छ । वैठकमा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले उद्योग वाणिज्य संघको तर्फवाट तीन महिनाकालागि खादयान्न समाग्री सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । गोर्खा वेलफेयरले पाँचसय लिटर क्षमताको पानी टंयाङ्गकी जडान गरिदिएको छ ।आइसोलेसन संचालनका लागि प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा मुल ब्यवस्थापन समिति निर्माण गरिएको छ ।
यसैगरि वडाध्यक्षहरु भूपेन्द्र वरालको संयोजकत्वमा वडाध्यक्षहरु चन्द्र भटटराई,दिपक गौतम,शिव नारायण चौधरी,मणिराम श्रेष्ठ र कार्यपालिका सदस्य गौरी परियार,उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेल,महासचिव पिताम्वर पोखरेल र उपमहानगरका कर्मचारी महेश सुवेदी सदस्य सचिव रहेको उपसमिति गठन गर्ने निर्णय भएको छ । यसअघिनै शिक्षा महाशाखाका अधिकृत फाल्गुनी काफले संयोजकत्वको निर्माण समिति सक्रिय छ ।