धरानः कोरोनाको जोखिम बढ्दै गएको अवश्थामा पनि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले पिसिआर रिपोर्ट आउनु अगावै एक बिरामीको शल्यक्रिया गरेर ज्यान बचाएका छन ।
प्रतिष्ठानको युरोलोजि विभागले प्रोस्टेडको समस्या भएका मोरङका ७८ वर्षिय वृद्धको शल्यक्रिया गरेर उनको ज्यान बचाएका हुन् । युरोलोजी विभागका डा. सुधिर सिंहको टोलिले उनको शल्यक्रिया गरेका थिए ।
कोरोनाको जोखिम बढ्दै गए पछि अस्पतालमा आउने बिरामीको पिसिआर रिपोर्ट आए पछि मात्रै थप उपचार गर्ने गरिन्छ, तर प्रोस्टेडको समस्या लिएर आएका बिरामीको ७ घण्टा देखि पिसाब रोकिएका कारण रिपोर्ट आउनु अगावै नै शल्यक्रिया गरेको थियो । शल्यक्रिया गरे पनि बिरामीको पिसिआर रिपोर्ट गरिएको थियो । उनको रिपोर्ट कोरोना पोजिटिभ आएको छ । उनीहरु प्रतिष्ठानमा उपचारका लागि भदौं ९ गते आएका थिए । उनको दुई हप्ता अगाडी विराटनगर स्थित अस्पतालमा शल्यक्रिया समेत गरिएको थियो । त्यस पश्चात उनको पटक पटक मूत्रथैलीमा रगत जम्ने समस्या हुन थाले पछि प्रतिष्ठानको आकस्मीक कक्षमा ल्याइएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
बिरामीलाई प्रतिष्ठान ल्याउँदा ७ घण्टा देखि पिसाब पूर्ण रूपमा बन्द भएको थियो र बिरामी धेरै दुखाइका कारण छटपटाइरहेका थिए । उनले भने, ‘बिरामी को जाँच गर्दा मूत्रथैलीमा रगत जमेको पाइयो र बिरामीको आकस्मिक शल्यक्रिया को तयारी भयो ।’
डा. सुधीर सिंह को नेतृत्वमा डा. आवाज काफ्ले र नर्सहरू शारदा शिवा र कविता सुब्बाको टोलीले पूर्ण सतर्कता अपनाएर शल्यक्रिया गरेको उनले बताए । शल्यक्रिया पछि कोरोना पोजिटिभ देखिएका बिरामीलाई कोभिड अस्पतालमा ट्रान्सफर गरि निगरानीमा राखेर ६ दिन उपचार गरिएको उनले बताए ।
संभावित कोरोना संक्रमण हुन सक्ने दूरदर्शिता, आवश्यक सतर्कता, साथै बिरामी को तुरुन्त आकस्मिक शल्यक्रिया गर्ने निर्णयका कारण बिरामीको मात्र जीवन रक्षा नभई बिरामीको आफन्त र संलग्न सबैको कल्याण भएको उनले बताए । वृद्धको शल्यक्रिया रुटिन ओटीमा नै भएको थियो । शल्यक्रिया पछि बिरामीमा कोरोना पोजिटिभ देखिए पछि ओटिलाई पुर्ण सेनिटाइज गरिएको उनले बताए । शल्यक्रियामा सहभागि चिकित्सक, नर्सहरु क्वारेन्टाइनमा राखिएको छ । बिरामीको रिपोर्ट पोजिटिभ आए पनि स्वास्थ्यकर्मीहरुको रिपोर्ट भने नेगेटिभ आएको छ । पुर्ण रुपमा आवश्यक सुरक्षा सामग्री सहित सर्तकता अपनाएर शल्यक्रिया गरिएकोले कुनै समस्या नआएको डा. सुधिर सिंहले बताए । पुर्ण सर्तकता अपनाएर काम गर्यो भने कुनै समस्या नआउने र बिरामीले पनि समयमै उपचार पाउने उनको भनाई छ ।