इटहरीः नेपाल राष्ट्र बैंकले नेपाली नागरिकबाट सरकारका नाममा ऋण उठान नागरिक बचतपत्रको बिक्री आजबाट खुल्ला गरेको छ ।

नागरिक बचतपत्र नाम दिइएको सो अभियानमा नेपाली नागरिकले लगानी गर्न पाउँछन् भने एघार प्रतिशत व्याज पनि पाउँछन् ।

उक्त नागरिक बचतपत्रमा कुल ३ अर्ब ३ करोड रुपैयाँ बराबरको बचतपत्रको ५ वर्षे अवधिको यो नागरिक बचतपत्रमा लगानी गरेबापत राष्ट्र बैँकले बचतकर्ताले चाहेको बैँकमा व्याज उपलव्ध गराउँछ ।

बचतपत्रमा जेठ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० हजार रुपैयाँ र सो रकमले निःशेष भाग जाने रकममा यो बचतपत्रका लागि आवेदन दिन सकिन्छ ।

६–६ महिनामा आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्था वा राष्ट्र बैंकका प्रादेशिक कार्यालयमार्फत ब्याज लिन सकिन्छ । आगामी असार ८ गते यसको निष्काशन मिति तोकिएको छ भने २०८४ असार ८ गते साँवा रकम फिर्ता हुने राष्ट्र बैंकले जनाएको छ ।

यस्तो नागरिक बचतपत्रमा लगानी गर्नेलाई बीचमै पैसा आवश्यक परेमा बैंक तथा वित्तीय संस्थामा यही पत्र धितोका रुपमा राखेर ऋण लिन पनि सकिन्छ । राष्ट्र बैंकको वेबसाइटमार्फत् मनीटरी म्यानेजमेन्टमा गई अनलाइन प्रणालीबाट बचतपत्रमा आवेदन दिन सकिन्छ । आवेदन दिँदा नागरिकताको प्रतिलिपि समावेश गर्नुपर्नेछ ।