विराटनगर:  प्रदेश १ सरकारले जिल्लामा भएका गतिविधिको विषयमा जानकारी लिनका  मंगलवार देखि प्रत्यक्ष भिडियो संवाद शुरू गरेकाे छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग प्रत्यक्ष भिडियो संवाद कार्यक्रम सुरु गरेको हाे ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रत्यक्ष भिडियाेमार्फत आगामी संविधान दिवसलाई मनाउने तयारी थाल्न  प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए ।

यसैगरी जिल्लामा डेंगुबाट प्रभावितको उपचारको अवस्थाको विषयमा बुझेर जानकारी गराउन प्रमुख जिल्ला अधिकारीहरुलाई मन्त्री कार्कीले निर्देशन समेत दिएका थिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्रमुख जिल्ला अधिकारीसँग समन्वयका लागि प्रत्यक्ष भिडियो संवाद कार्यक्रमले विशेष अवस्थामा सामूहिक संवाद गरेर तत्काल आवश्यक पहल गर्नका लागि सहयोग गर्ने बताइएको छ । विपद् तथा प्रकोप व्यवस्थापन र नियन्त्रणका लागि प्रदेश सरकारसँग प्रमुख जिल्ला अधिकारीले गर्ने समन्वयमा सहजीकरण हुने दाबी गरिएको छ ।

आर्थिक वर्ष २०७५/२०७६ बजेटमा समावेश गरिएको प्रत्यक्ष संवाद कार्यक्रम सञ्चालनसँगै जिल्लागत सूचना लिनका लागि सजिलो हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमा यसको प्रवन्ध मिलाउन ४५ लाख रुपैयाँ खर्च गरेको छ ।