इटहरीः दशैंको पूर्वसन्ध्यामा गत साता नेप्से सूचक बढ्दा बजार पूँजीकरण २४ अर्ब ८६ करोडले बढेको छ । साताका पाँचै दिन खुलेको बजारमा १ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको थियो । अघिल्लो साताको तुलनामा झण्डै १० करोड रुपैयाँले बढेर १ अर्ब १० करोड रुपैयाँको शेयर कारोबार हुँदा १ सय ८४ ओटा कम्पनीको ४३ लाख ७७ हजार कित्ता शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

शेयर बजारमा नेप्से सूचक बढेर कम्पनीको शेयरमूल्यमा भएको वृद्धि तथा विभिन्न कम्पनीको बोनस शेयर थपिँदा बजार पूँजीकरण बढेको हो । अघिल्लो साता १४ खर्ब ३५ अर्ब रुपैयाँ रहेको बजार पूँजीकरण २४ अर्ब ८६ करोडले बढेर यो साता १४ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । यसबीचमा नेप्से परिसूचक १९ दशमलव ५९ अङ्कले बढेर ११४९ दशमलव ४० पुगेको छ ।

गत साता कुल बजार पूँजीकरणको पहिलो स्थानमा नेपाल दुरसञ्चार कम्पनी ९५ अर्ब ५५ करोड सहित बसेको छ । एक खर्ब १० अर्ब हाराहारी बजार पूँजीकरण रहेको कम्पनीको शेयरमूल्य घट्दा १५ अर्बले पूँजीकरण क्षति भएको छ ।

त्यस्तै, नबिल बैंक ६९ अर्ब २४ करोड, नेपाल इन्भेष्टमेन्ट बैंक ५७ अर्ब १४ करोड, स्ट्याण्डर्ड चार्टड बैंक ४६ अर्ब ४६ करोड, एभरेष्ट बैंक ४६ अर्ब १५ करोड, हिमालयन बैंक ४३ अर्ब ११ करोड, नेपाल लाइफ ४२ अर्ब ३२ करोड, एनआईसी एशिया ३७ अर्ब ८० करोड, कृषि विकास बैंक ३७ अर्ब ५० करोड र नेपाल एनएमबि बैंक ३६ अर्ब ७४ करोड पूँजीकरणसहित यस साता शीर्ष पूँजीकरण भएका १० कम्पनीमा परेका छन् ।

शिवम् सिमेन्ट्सको उच्च कारोबार
गत साता शिवम् सिमेन्टसको सबैभन्दा धेरै ७ करोड ८५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । सातामा धेरै कारोबार हुने अग्रपङ्क्तिमा वाणिज्य बैंक देखा परेका छन् ।

शिवम् सिमेन्ट्सपछि नेपाल बंगलादेश बैंकको संस्थापक शेयरको सबैभन्दा बढी ७ करोड १ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी प्रभु बैंक र सिद्धार्थ बैंक उच्च कारोबार गर्ने कम्पनीको तेस्रो र चौथो स्थानमा छन् । प्रभु बैंकको ६ करोड ५९ लाख रुपैयाँ, सिद्धार्थ बैंकको ४ करोड ५३ लाख, बैंक अफ काठमाण्डौको संस्थापक शेयरको ४ करोड २८ लाख, सानिमा बैंकको ४ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयरको ३ करोड ४१ लाख, सोल्टी होटलको ३ करोड ३७ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ३१ लाख र बैंक अफ काठमाण्डौंको साधारण शेयर ३ करोड २९ लाख रुपैयाँ बराबरको किनबेच भएको नेपाल स्टक एक्सचेञ्ज नेप्सले जनाएको किनबेच भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।