उपेन्द्र पागल दाइसँगका सम्झना

  • चैत्र २२, २०७६
  • ७१५ पटक पढिएको
  • बद्री भिखारी
alt

कोरोना नामको भाइरसले घरबाहिर निस्किन बन्देज जत्तिकै छ । त्राससँगै मानिसहरू मृत्युको भयले त्रसित छन् । हेर्छु घरबाहिर चकमन्न छ । सडक सवारीविहीन छ । आकाशमा कुनै आवाज छैन जहाजको । धुँवा र धुलो नभएपछि हावा पनि सफा लाग्छ । कुनै इन्जिनको आवाजले चराचुरुङ्गीहरू अत्तालिएर यताउता उडेका छैनन् । मानिस भय त्रासले छटपटाइरहे पनि जीवजन्तु र चराचुरुङ्गीहरू त शान्त हुँदा रहेछन् । फेसबुक र टेलिभिजन नभइदिएका भए मानिसको अवस्था कस्तो हुन्थ्यो होला सोच्छु । तर सम्हालिन्छु, विद्युतीय समाचार नहुँदो हो त मानिस यति भयभीत पनि त हुँदैनथे नि ! कोरोना लाग्दैमा केही होओइन निको होला, तर त्यसले आफूलाई मात्र होइन परिवार र समाजलाई नै सङ्क्रमण फैलाउँदो रहेछ । त्यसैले पनि मानिस भयभीत छ । यिनै भयले उकुसमुकुस भइरहेको बेला साहित्यकार उपेन्द्र ‘पागल’को निधनको खबरले नमीठो झड्का दियो ।
उपेन्द्र पागल मेरा साथीहरूको पङ्तिमा उभिएको एक नाम । उहाँसँगका अन्तरङ्ग कुरा खोतल्न सैंतीस सालमा पुग्नुपर्छ । हो, हाम्रो सम्बन्धको शुरुवात त्यहीँबाट हुन्छ । दाइ मेरानिम्ति आजका मितिसम्म विभिन्न भूमिकामा रहनुभयो । यसरी मेरो उमेरको एक्काइस बर्षमै गाँसिएको हाम्रो दौँतरी गणनाले झण्डै दुइटा एक्काइससम्म बिते । शुरुमा मेरा हाकिम उहाँ, पछि हामी साथीसाथीमा रुपान्तरित भयौँ । हाम्रा रहर एकै किसिमका, जागिर खाने बाध्यता एकै किसिमका र सोचाइ पनि एकै किसिमका मात्र भएनन् समयक्रममा कार्यालय पनि संयोगवश एउटै भएका थिए ।
आआफ्नै विवशतामा टाढिनु परेको अवस्थामा अचानक आयोजना हुने गोष्ठी सम्मेलनले हामीलाई एकाध घण्टाको लागि भए पनि मिलाइदिन्थ्यो । विगतदेखि हेर्दै जान्छु, दाइ औसत मानिसभन्दा फरक हुनुहुन्थेन, न कुनै विशिष्ट गुणले भरिएको । यही माटोमा हुर्किएका दाइमा पनि रिस थियो, क्षमा थियो, घृणा थियो र माया थियो । यी सबै गुण अवगुण भएरै दाइ एक मानिस हुनुहुन्थ्यो ।
उहाँको निधन भइसकेको अहिलेको अवस्थामा उहाँलाई महान बनाउनुपर्ने न कुनै कारण नै छन्, न त खराबको तहमा झार्नुपर्ने कुनै विषय नै छन् । औसत दाइमा औसत गुणहरू थिए । तर साहित्य, कलामा त दाइ औसतभन्दा माथि हुनुहुन्थ्यो । दाइ लेख्नुमात्र हुन्नथ्यो, लेख्न उत्प्रेरित पनि गर्नुहुन्थ्यो । गाउँमा हुर्किए, बढेका दाइ विशेषतः गाउँलाई औधी माया गर्नुहुन्थ्यो । खोज्नुहुन्थ्यो गाउँमा लुकेका प्रतिभा । हो, म गाउँमा थिएँ र हामी झन्झन् सामीप्य हुँदै गयौँ । दाइसँगको अति निकट उठबसले पनि मृत्युको खबर सुनेर निकै भावविह्वल भएँ दिनैभरी ।
अँ त दाइ पनि गजबकै हुनुहुन्थ्यो । हाकिम हुँदा हाकिमजस्तै र साथी हुँदा साथीजस्तै । हाम्रो सम्बन्ध हाकिमभन्दा पनि अधिकत्तर साथीसाथी जस्तै भएर बित्यो ।
हामीबीचको रमाइलो प्रसङ्ग पनि उत्तिकै छ । दाइ सूचना केन्द्र विराटनगरको प्रमुख हुनुहुन्थ्यो । दर्जनौं कर्मचारीबीच हाकिम भएर बस्नुभएका दाइमा एक खालको लघुताबोध पनि थियो आधा दर्जन कर्मचारीको हाकिम हुँदा । लघुताबोध सतहमा नआए पनि अन्तर्यमा लुकेको म सहजै अनुमान गर्थेँ । तर दाइलाई सूचना केन्द्र वरदान पनि हुँदै गयो समयक्रममा । यतिको लोकप्रिय व्यक्तित्व आर्जनमा सूचना केन्द्रकै उपज भन्नुहुन्थ्यो पछिपछि त मसँग । म हुलाकमा थिएँ, दाइ सूचना केन्द्रमा । कुनै दिन पनि हामी संवादविहीन हुनु दुवैलाई नरमाइलो लाग्थ्यो । दाइले फोन गर्नु भएछ मलाई । म हाकिमकै कोठाछेउमा थिएँ । फोनको रिसिभर उठाउने हाकिम भरखरै बहाली भएका थिए । बोल्दाबोल्दै अट्टहास गरेको पनि सुनेँ । ठानेँ, हाकिमका कुनै अन्तरङ्ग मित्रसँग गफिँदै होलान् । हाकिम बोल्दाबोल्दै रोकिए र पियन बोलाए । हाकिमले यताबाट ‘को भिखारी ? ..... होइन, यो अफिसमा भिखारी पनि छन् ?’ बोलेको त सुनेको हुँ तर उनले बोल्दाबोल्दै जानु अनुशासनभन्दा विपरीत हुन्थ्यो । पियन आएर मलाई बोलाए । पागल दाइ र म टेलिफोनमै गफियौँ मन लागुञ्जेल । हाम्रो गफ सकिएपछि हाकिम झन् हाँसे । खासमा हाकिमले फोन उठाउँदा सोधेछन् को बोल्नुभो ? नयाँ आएका हाकिमसँग दाइको चिनजान रहेनछ, भन्नुभएछ ‘म पागल बोल्दैछु ।’ सुन्दै अनौठो लाग्ने नाम सुनेर हाकिम हाँस्नै नै भए । हाकिमको हँसाइ यत्तिमै सीमित भएन, कसलाई खोज्नुभयो भन्ने हाकिमको प्रश्नको उत्तरमा दाइले थप्नुभएछ ‘भिखारीलाई खोजेको ।’ अनि हाँस्नका लागि अरु मसला नै किन चाहियो ? त्यही भएर हाकिमको अट्टहासले कोठै उचालिएको थियो ।
हाकिम थिए लोकप्रसाद आचार्य, फरासिला, एक राम्रा कवि र मुक्तकबाज । पछि पनि हाकिम रमाइलो वातावरण बनाउन कुरा निकाल्थे, ‘पागलले भिखारीलाई खोजेको पनि आफ्नै कानले सुनियो र देखियो ! ’
दाइ सरलमात्र होइन, उत्तिकै कोमल हुनुहुन्थ्यो । परोपकार कर्तव्य ठान्नुहुन्थ्यो । शायद त्रिचालीस सालको फागुन महिनाको कुरा हो । राजा वीरेन्द्र पूर्वाञ्चल भ्रमणमा निस्किएको समय थियो । धनकुटा मुकाममा बसेकी रानी अचानक विराटनगर सवारी हुने कार्यक्रम भएछ । नेपाल महिला सङ्गठनले विराटनगर नगर पञ्चायतमा बडामहारानीलाई अभिनन्दन गर्ने कार्यक्रम अचानक तय ग¥यो । सबै अचानक भए पनि सतर्कता अपनाउनु प्रशासन र पञ्चका लागि आवश्यक थियो । बडामहारानीको सवारी भएपछि कार्यक्रम तालिका पेश गर्नुपर्दाे रहेछ ।
दुइ प्रति कार्यक्रम तालिका र अभिनन्दन लेख्ने मानिसको खोजीमा राजदरबारका कर्मचारी र सवारी कार्यालयका कर्मचारी घुम्दै उपेन्द्र दाइकोमा पुगेछन् । आफूले त्यस्तो काम नगर्ने बताउनुभएछ । त्यो बेला विराटनगरका चर्चित वामपन्थी नेता लव प्रधानले रानीको अभिनन्दन किन लेख्थे र ? उपेन्द्र दाइले पनि नमान्नु भएपछि समाधानका लागि उपाय खोजेछन् दाइसँग । दाइले मेरो किराना पसलमा पठाइदिनु भएछ लेखाउन ।
राती ८ बजिसकेको थियो, पसलको ढोका ढकढकाउन थाले अपरिचित मानिस । दरबारिया भाषामा तीन ताउ कागजमा एकएक प्रति लेखिदिन अनुरोध गरे । कागज र लेख्ने साइनपेन पनि सँगै लिएर आएका । दरबारका कर्मचारीजस्तो नलाग्ने उनीहरू निकै विनम्र थिए । उनीहरू त्यहीँ हुँदाहुँदै दाइले एक जना पियन पठाएर मलाई बोलाउनुभो । गएपछि दाइले लेख्ने तरिका सिकाइदिनुभो र भन्नुभो, ‘यिनीहरूलाई अप्ठेरो परेकाले रुपैयाँ जति भन्यो त्यति दिन्छन्, राम्रो मौका आएको छ बद्री, चार÷पाँच सय घटी नलेख्नू है’ भनेर बिदा गर्नुभो । थोरै संकोच अनि अलिकति खुसी लिएर दोकानमा आएँ । उनीहरू बसेकै थिए, मैले सात सय नभई लेख्तिनँ भनेँ । उनीहरूले निकै जोड गरेपछि १ सय छुट गरेँ । त्यो बेला खरिदारको तलब नै लगभग २ सय ५० हुँदो हो । तलबको तुलनामा पारिश्रमिक निकै थियो । मलाई एक किसिमले डर पनि थियो, भोलि हप्काएर त्यति नदेलान् भन्ने । राती एक बजेसम्म मिहिनेत गरेर अभिनन्दन पत्र, कार्यक्रम तालिका लेखिसिध्याएँ । रुपैयाँ पाउने लोभमा खिपेर लेखेँथेँ, अक्षर पनि राम्रा भएछन् । उनीहरूले फेरि घटाउन खोज्लान् भन्ने मेरो आशङ्का उनीहरूको व्यवहारबाट तुहाइदिए । दरबारका कर्मचारी, अनुशासन कडा हुँदो हो मलाई त ६ सय नै दिए । न बिल भौचर नै मागे, न कुनै दलाली गरे । उज्यालो अनुहारमा बरु उनीहरूले रुपैयाँ सँगसँगै मीठो र रसिलो धन्यवाद पनि दिए । म त सपना हो कि झैँ गरेर एकछिन त अलमल्ल परेँ ।
उनीहरू मैले लेखिदिएको तीन थान पत्र लिएर गएपछि म उपेन्द्र दाइलाई भेट्न गएँ । काम मिलाइदिए बापत केही दिनु कि नदिनु दोधारमा थिएँ । दाइले खुसी हुँदै राम्रै पारिश्रमिक दिन्छन् भनेरै तिमीलाई पठाइदिएको हुँ, तिम्रो जीवनको पहिलो पारिश्रमिक, मनलाग्दो खर्च गर भन्नुभो । दाइलाई धन्यवाद दिएँ मनमनै र फर्किएँ । राम्रो लेख्ने म मात्र थिइनँ, तर साहित्यिक मानिस भएकाले मलाई माया गर्नुभएको रहेछ ।
उमेर र बिमारले दाइको भौतिक शरीरको अन्त्य तर क्रुर थिएन । पक्कै पनि जागिर भूतपूर्व भएको थियो र अभूतपूर्व थियो प्राज्ञ । पाउने धेरै पद र सम्मान राज्यबाट दाइका भागमा परेका थिए । नागरिक तहबाट पाउने सम्मान र पुरस्कार पनि पाइसक्नु भएकै हो । दुर्भाग्य ! दाइभन्दा शक्तिशाली थियो रोग, दह्रो आत्मबल हुँदाहुँदै पनि सक्नुभएन जित्न ।
कवितामा अमूर्त शैली रोज्ने दाइ, काम गराइमा मूर्त हुनुहुन्थ्यो । नयाँ किताब पढ्ने चाह हरेक साहित्यिकहरूसँग राख्नुहुन्थ्यो । रमेश सायनको छुटेका अनुहार मैले पु¥याइदिँदा दाइको अनुहार निकै हँसिलो देखिन्थ्यो । कस्तो राम्रो बानी थियो भने सिकारुहरूका रचनामा पनि उच्च सौन्दर्य, नयाँ शिल्प कतै न कतै देखिहाल्नु हुन्थ्यो । गज्जबको बानी थियो, नराम्रोबाट पनि राम्रो खोज्नुहुन्थ्यो । हामी नकारात्मक सोच भएकालाई दाइ सुन्दर कुरा भेट्टाएर चकित बनाइ दिनुहुन्थ्यो । प्रतिभाहरूलाई खोजीखोजी, फोन गरीगरी उत्प्रेरित गर्नुहुन्थ्यो ।
सामाजिक मनोविज्ञानमा आधारित विषयवस्तुमाथि कथा लेख्ने पागल, व्यवहारतः सामाजिक पनि हुनुहुन्थ्यो । सोच्छु, लेख्न बस्दा पनि उहीँ पुग्छु । दाइले ओछ्यानबाटै मलाई भन्नुभएको सम्झन्छु, ‘साहित्यको नाममा व्यापार गर्नेसँग जोगिनु रहेछ बद्री ! म मुछिएँ थाहै नपाई रछ्यानमा । बिरामी यो अवस्थामा पनि उनीहरूको व्यवहार सम्झेर किटकिट हुन्छु । के गर्नु, तैपनि साथीभाइ नै हुन् चित्त बुझाउँछु ।’
दाइ ! म पनि त्यै भएर तपाईंको अन्तिम बिदाइपछि चित्त बुझाउँदै यतिसम्म लेख्न सकेँ ।

प्रिय बूढीघाट !
सैंतीस साल यता उपेन्द्र दाइ र मेराबीच कति प्रगाढ बनेछ सम्बन्ध, दाइको अन्तिम बिदाइमा पनि सामेल हुन पाएँ नि !
यति प्रिय र कोमल मन भएका उपेन्द्र दाइलाई तिमै्र सुन्दर बगैँचा साक्षी राखेर हामीले अन्तिम बिदाइ गर्याैँ । तिम्रो सुन्दर, शान्त र सौम्य आँगनमा अन्तिमपल्ट दाइ पनि शान्त देखिनुभएको थियो । र मनमनै कामना पनि गरेँ दाइ, तपाईँको आत्मालाई शान्ति मिलोस् !

 

प्रतिक्रिया दिनुहोस

प्रदेश १ को हजार बेडको कोभिड अस्पतालको छैन पत्तो ,नागरिक केयर सेन्टर निर्माणमा पनि ढिलासुस्ती

विराटनगरः प्रदेश १ सरकारले बनाउने भनेर घोषणा गरेको एक हजार बेड क्षमताको कोभिड १९ अस्पालको अझै पत्तो ...

नेकपामा देखिएको विवाद हटाउन महाधिवेसन आवश्यक छः प्रेस संगठन इन्चार्ज गौतम

संखुवासभाः नेकपामा केन्द्रिय कमिटि सदस्य तथा प्रेस संगठनका इन्चार्ज एवम् प्रतिनिधिसभा सदस्य राजेन्द् ...

हत्या गरेपछि अपहरणको नाटक, मृतककै नम्बरबाट फिरौती माग

इटहरीः मसिंर १० गते सुनसरीको दुहबी नगरपालिका २ बीरगाँउका १७ वर्षीय सुजन नारायण चौधरी दिनभर घरमै व्यस ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved