सम्भावनाको बलियो राजमार्गः अर्को राजमार्ग

  • श्रावण ३१, २०७७
  • २८४ पटक पढिएको
  • सुरेश हाँचेकाली
alt

भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा जन्मिएकी तारा पराजुली कविता, गीत लेखन, शिक्षा क्षेत्र र राजनीतिमा एकैचोटी चलायमान छिन् । नेपाली साहित्यमा स्नातकोत्तर उनले मोरङ जिल्लालाई आफ्नो कर्मथलो बनाएर माथि उल्लेखित विषयक्षेत्रमा काम गरिरहेको पाइन्छ ।

कविता लेखनमा लामो समय बिताए पनि उनको हालसम्म एउटा मात्र सङ्ग्रह प्रकाशित भएको छ । लेखनमा साधना र प्रकाशनमा धैर्य जस्तो लाग्ने कवि ताराको २०७४ मा प्रकाशित कवितासङ्ग्रह ‘अर्को राजमार्ग’ले विषयगत विविधता समेटे पनि यसभित्रका कविताहरू मूलतः सहर र गाउँबीचको विपर्यास, लैङ्गकि मुद्दा, राष्ट्रियता, पहाडी जीवनप्रतिको अतित अनुराग, आर्थिक मुद्दा र प्रेमजस्ता विषयवस्तुमा केन्द्रित छन् । यो लेखको उद्देश्य ‘अर्को राजमार्ग’ भित्रका कविताहरूको एक सामान्य सर्भेक्षण हो ।

कवयित्रीले माक्र्सवादी दृष्टिकोणबाट समाजका मुद्दाहरू उठाएकी छन् । विद्यालय स्तरदेखि नै सामाजिक(सांस्कृतिक(राजनीतिक सक्रियता बढाएकी उनी अभावग्रस्त मान्छेहरूको दुःख हेरेर कविताको तान बुन्छिन् । ‘सडक चोकमा’ शीर्षकको कवितामा ताराले सर्वहाराको दुःख समातेकी छन् ।
सहरको तँछाडमछाड पूँजीवादी बजारमा एक रिक्साचालक अभावले पिल्सिएको छ । सहरीकरणको यान्त्रिक महाअभियानमा उसको अस्तित्व रक्षाको सुनुवाइ सरकार, पुँजीवादी व्यवस्था, कर्पोरेट दुनियाँ कसैले गर्दैन । यही निरिह रिक्साचालकको सरोकारलाई ताराले लिपिबद्ध गरेकी छन्  ।
मालपोतको फाइलमा कतै नाम भेटिदैन
अलिकति माटो र आफ्नै औँठा छापको पुर्जा
यिनै पुकार सुनिरहन्छ‘ ।
नयाँ विम्बको खोजीमा तारा निकै आशक्त देखिन्छिन् । यथार्थमा यही आशक्तिले एउटा कविलाई आफ्नो मौलिकतातिर डोहो¥याइरहेको हुन्छ । फूलको बोटै भाँच्ने प्रकारको बिद्रोहले स्वीकृति हैन, अस्वीकृति प्राप्त गर्छ भन्ने प्रकारको आशय बोकेको ‘पुल’ शीर्षकको कवितामा ‘यता बगरको ढुङ्गामा दुःखिया पसिना आलै सुक्छ’ भन्ने हरफ निकै बाचाल लाग्दछ ।
बगरको ढुङ्गामा भएको सम्वेदनहीनताले पसिनालाई न्याय गर्दैन । ताराले भनेको ‘बगरको ढुङ्गा’ गरीवमारा पूँजीवादी प्रणाली हो, जसको निम्ति नाफा र उपभोग मात्रै सरोकार रहन्छ । असुरक्षा, भोक र गरीवीले जन्माएको नाङ्गोपनको विषयमा उनको कविता उद्वेलित छ । ‘प्रश्न’ शीर्षकको कवितामा उनको एउटा जब्बर प्रश्न छ(
आमा ! हाम्रो घरमा
किन कहिल्यै गर्व र गौरव प्रवेश गर्दैनन् ?
‘म कमलरी’ शीर्षकको कवितामा अर्को एक सीमान्त पात्र कमलरी छिन् । पुख्र्यौली रुपमा आएको कमलरी पेशाले उक्त पेशाकर्मीको जीवनलाई झन् दयनीय र बिश्रृङ्खलित तुल्याएको छ । आफ्नै मालिकबाट असुरक्षित कमलरीको भाषालाई ताराले कसरी टिपेकी छन् भन्ने एक उदाहरण हेरौं । 
सेता लुगाका काला दाग घोटेर फाल्छु
आफूलाई झनै मैलो र दागी भेट्छु
मुखिया हुन्, दानापानीको साइनो छ
आजको दिन भोलिको उज्यालो तिनैसँग छ‘ ।
दुःखको रापमा पिल्सिएका महिलाहरू ताराका कवितामा मुखरित भएर आउँछन् । कुनै पनि समाजको अर्थ(राजनीतिक व्यवस्थाले नै त्यो समाजका मानिसहरुको जीवन पद्दति निर्धारण गर्दछ । हामी पूँजीवादी क्रान्ति सम्पन्न हुन नसकेको अर्ध(सामन्ती र अर्ध(औपनिवेशिक देशका रैती भएर बाँचेका छौँ । राष्ट्रिय पूँजी विकास हुन नसकेको र विदेशी चलखेलबाट प्रताडित मुलुकवासी भएका कारण हामी आर्थिक असुरक्षाको भयावह नियति बोकेर बाँचेका छौँ । यो सन्दर्भमा ताराले दुःखका अनेकौँ जङ्घार तर्दै बृद्धावस्थामा पुगेकी महिलाको एउटा मार्मिक विम्ब ‘शासकसँग’ कवितामा यसरी खिचेकी छिन् । 
यसबेला
जीवनको पल्लो किनारामा पुगेकी मेरी आमा
नालायक समयलाई सराप्दै छिन्
पहिरो मास्तिर बसेर‘ ।
पुत्रलाभको क्षणमा पनि सन्तुष्टी र हर्षले विभोर हुन नसकिरहेको एक अभिसप्त बाबुको मनोदशालाई ताराले ‘छोरो जन्मेको दिन’ कवितामा ठम्याएकी छन् । उनका कवितामा यस्तै दुःखी, पराजित र अभिसप्त पात्रहरूको उपस्थिति छ । उनी उनीहरूको जीवनबाट अभिसापको अन्तको कामनासहित कविता लेख्छिन् । त्यो अभिसप्त बाबु आफ्नो दयनीय जीवनकथा ताराको कवितामार्फत् यसरी कहन्छ । 
छोरा ! आज तिमी जन्मेको दिन
मसँग रहर ओताउने एक पाखो छानो छैन
दुःख बिसाउने एक पाइलो घडेरी छैन
पसिना रोप्ने एक हात बारी छैन‘ ।
अक्षरको मन्दिर बनाउन हजुरआमाले दिएको आशिर्वाद पछ्याएकी ताराले अस्थिर राजनीति र सङ्क्रमणकालमा बेहोर्नु परेको ज्यादतीलाई ‘हजुरआमा र फेरिएको साइनबोर्ड’ शीर्षक कवितामा उल्लेख गरेकी छिन् । 
आज म बाध्य भएर फेर्दैछु साइनबोर्ड
मैले बनाएको अक्षरको मन्दिर
भव्य र कुरुप चन्दाघर भएको छ‘ ।
पितृसत्ता एउटा व्यवस्था हो । हाम्रो जीवनपद्दति यसैद्वारा निर्देशित छ । हाम्रो पारिवारिक संरचना र वैवाहिक जीवनको ताल पितृसत्तात्मक व्यवस्थाकै नीतिद्वारा परिचालित छ । जस अन्तर्गत विवाह पश्चात महिला पुरुषको घरमा जाने र आफ्नो पूर्वघरलाई माइतीमा परिणत गर्ने परिपाटी हुन्छ ।
विवाहको क्षण व्यक्तिको जीवनको एक विशिष्ट सङ्क्रमण क्षण हो । त्यो क्षणमा एउटी महिला नयाँ भूगोल, नयाँ बंश परम्परा र नयाँ जीवनशैलीमा प्रवेश गर्दै गरेकी हुन्छिन् । अझ महत्वपूर्ण, विवाहकै विन्दुबाट उनको स्वतन्त्रताहरूमा थप काँटछाँट हुन्छ ।
विवाह नामको सङ्क्रमणकालीन क्षणमा पितृसत्तात्मक व्यवस्था अधीनस्थ एक बेहुलीको अनुभूतिलाई ‘बेहुली घाम’ कवितामा ताराले जीवन्त भाषामा टिपेकी छिन् । यो उनको व्यक्तिगत अनुभूति हुन सक्छ तर त्यसको ‘एप्लिकेशन’ हाम्रो समाज र लैङ्गिक सम्वन्धसँग गाँसिएको छ । उनी लेख्छिन् । 
अब म निर्देशित लवजमा हुनेछु
मलाई केही क्षण सहरीकरण गरेर
आफू भने निर्बासित भएको छ
भर्खरै एउटा बेहुली घाम‘ ।

117889445_625812911690702_8481557661399102786_n

 देशले पितृसत्ताको प्रबर्द्धन गर्छ र पितृसत्तात्मक विचारधाराले देश चलाएको छ भने देश र पितृसत्ता एकअर्काका समर्थक र सहयोगी भएका छन् । लैङ्िगक हिसावले कमजोर पारिएका महिलाले देश र पितृसत्ता दुवैसँग लड्नुपरेको तर त्यो लडाइँले अपेक्षित उपलब्धी हासिल नगरेको अवस्था छ । पितृसत्तात्मक जीवनदर्शनले दीक्षित समाजमा नारी दोश्रो दर्जाकी भोग्या मानिन्छिन् । ‘मृत्युको झीरमा यौवन’ शीर्षकको कवितामा देश र पुरुष दुवै नृशंसताको परिचायक बनेका छन् । उदाहरण। 
कसैले भनिरहेछ भीडबाट
देशै यस्तो, पुरुषजस्तो‘ ।
पितृसत्ताले नारी स्वतन्त्रतामाथि मात्र कब्जा जमाएको छैन, यसले त नारी शरीर र अस्मितामाथि युगौँदेखि नङ्ग्रा गाडेको छ । लैङ्गकि समता र समानताका मुद्धाहरू जति जुर्मुराएर उठे पनि नारी शरीर नरपिशाचको आक्रमणबाट मुक्त छैन । कवि ताराको भाषामा ‘यौवनका कपना टिप्न’ नारी तनमाथि बलात आक्रमण हुन छोडेको छैन । ‘बेखवर नीलिमा’ कवितामा कवि यसो भन्छिन् । 
चिसापानी खोल्सा डिलमा
ढुङ्गाको सिरानी लाएर
बिसाइराखेकी छ
निम्ठो डोको सालिम्मो घाँस
त्यही छेउमा छ हँसिया र नुनिलो रुमाल
किनारमा ढुङ्गामा चिसै छन्
पानी रङका पैतालाका डाम
कहाँ गई होला नीलिमा सवै छोडेर‘ ? –
पितृसत्तात्मक समाज र विचारधाराले मातृसत्तालाई स्वीकार्दैन । आमाको घरलाई मावली र बाबुको घरलाई आफ्नो घर ठान्ने प्रचलनभित्र हुर्किएका हामी मावलीलाई हार्दिक हिसावले बुझ्छौँ । आफ्नो अस्तित्वलाई मावलीको बंशसँग जोड्दैनौँ । यो हाम्रो सोच पितृसत्तात्मक विचारधाराको उपज हो । ‘मामाघर’ शीर्षकको कवितामा ताराले मातृसत्तासँग अलिकति भए पनि तादात्म्य राख्ने मामाघरको चित्रण गरेकी छिन् । उनी आफ्नो मामाघरलाई आमाको प्रारम्भ बिन्दु मान्दै भन्छिन् । 
आमाले पहिलो पटक श्वास फेरेको हावा
अझै यिनै पोथ्राहरूमा अल्झिरहेको होला
यही खसेको हो आमाको आँखाबाट पहिलो थोपा आँसु
यही माटामा फुलेको हो ओठको पहिलो खुसी‘ ।
प्राकृतिक स्रोत र साधनहरूले भरिपूर्ण देशका नागरिक भएर पनि हामी जलवियोजनबाट मर्नुपर्ने नियतीमा छौँ । गाउँहरू दुःखी र एक्ला छन् । परित्यक्त भूगोल भएर बाँच्नु गाउँहरूको नियती भएको छ । बसाइँसराइँको तीब्र प्रक्रियाले गाउँहरू उराठलाग्दा भएका छन् । यो विषयलाई ताराका थुप्रै कविताले मार्मिक उठान गरेका छन् ।
कवि तारा पराजुली पहाडको तीक्ष्ण स्मृति बोकेर तराइमधेसमा जीवन र जीजिबिषा हाँकिरहेकी छिन् । उनको पहाडप्रतिको लगाव निरन्तर रुपमा प्रस्फुटित देखिन्छ । बाल्यकालीन पूर्वस्मृतिमा फस्नु प्रत्येक व्यक्ति, विशेषतः श्रष्टासर्जकको आम चरित्र हो । ताराले मानव वस्ती रित्तिदै गएको पहाडी गाउँको सशक्त छायाँछवि टिपेकी छन् ।
‘पहाडको निम्तो’ कवितामा ताराले बिरामी आमा, ऐँजेरुले ढाकेका रुख, झार उम्रिएको छानो जस्ता दृष्यगत विम्बको सहारामा पहाडको लयभङ्ग अस्तित्वलाई उतारेको पाइन्छ । एक उदाहरण हेरौँ । 
हिजोआज आमा बिरामी छन्
ओछ्यान मैलो छ
जुठेल्नाका डिलको नासपाती र सुन्तला
ऐँजेरुले खलक्क निलेको छ
अधिनायक हुर्किएर सिरुको छानो
वनमाराले छोपेको छ
पापी गँगटाले मूल कोल्ट्याएपछि
मूर्ति झिकिएको मन्दिरजस्तै भएको छ ढुङ्गेधारो‘ ।
‘पहाड र आमा’ कवितामा पनि ताराले पहाडमा दुःखहरूमा एकाकार भएर जीवन बिताइरहेका महिलाहरूको चित्र प्रतिनिधिमूलक पात्र आमामार्फत् प्रकाशमा ल्याएकी छिन् । यातायात, सञ्चार, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत मानवीय आवश्यकताहरूको सहज उपलव्धता नभएको पहाडी गाउँहरु डेढरदुई दशक अगाडि झन् विकराल थिए । त्यही दुःखी पहाडमा आमाहरूको जीवनको चर्खा चलिरहेको विम्बलाई ताराले यो कवितामा समातेकी छिन् । आमाको पूर्वस्मृतिलाई आफ्नो स्मृतिमा ढालेर ताराले भनेकी छन् । 
अनिदो अखवार आइपुग्दैन यहाँ
घरछेउको पसलमा राखिएको
बेग्लाबेग्लै मोलको नुन, चामल, तेल, बास्नादर साबुन
केही आइपुग्दैन यहाँ
आउने भनेको महङ्गी बोक्ने उही कुहिरो हो
पहाडमा
आमा यसै भन्नुहुन्थ्यो‘ ।
सहर र गाउँबीचको विपर्यास देखाउने ‘भोजपुर’ शीर्षकको कवितामा ताराले बालागुरु षडानन्द, योगमाया हुदै राजन मुकारुङसम्मका प्रतिभाहरूको चर्चा गर्नुका साथै सुविधासम्पन्न सहर र बाँसको जोखिमपूर्ण फड्केबाट खोलो तर्नुपर्ने गाउँको भिन्नता समातेक छिन् ।
राष्ट्रियता ताराका कविताको अर्को बलियो प्रक्षेप हो । ‘टिष्टासँग एक दिन(२’ लगायतका कवितामा यो प्रकट भएको पाइन्छ । टिष्टा नदी कुनै समय नेपालमा पर्थ्यो । यो नेपाली बहादुरीको आर्जन थियो तर त्यो बेला आज छैन । ताराकै शव्दमा ‘सगरमाथाकी कन्या’ भनेर चिनिने टिष्टा आज ‘दोश्रो घर’ (भारत) मा भित्रिएकी छिन् ।
यो कवितामा ताराले नदी, नारी र राष्ट्रियतालाई एकैचोटी समातेकी छन् । नदी र नारीमा सृष्टिलाई निरन्तरता दिने विषयमा प्रशस्त समानता भेटिन्छन् । ‘टिष्टासँग एक दिन( १’ कवितामा टिष्टा ओरालो बग्नुलाई जीवन ठान्छ, तर मान्छेहरू सधैँ उकालो ताक्छन् । यही विरोधाभाष ताराले टिपेकी छन् । एक दार्शनिक अभिव्यक्ति हेरौँ । 

 मलाई गर्व छ ओरालोसँग
त्यसैले ओरालै(ओरालो बग्छु
त्यही ओरालो झरेर
तिम्रा हजार पुस्ताको अन्त्य लेखेको छु मैले
तर म अझै जीवित छु‘
माटो पञ्चतत्व मध्येको एक हो । माटो उर्वरता र राष्ट्रियताको पनि प्रतीक हो । ‘गिट्टीमा सपनाहरू कुटेर’ कवितामा यस्ता हरफहरू छन् । 
तर नथुक्नु माटोलाई
झुक्किएर पनि
नसराप्नु माटोलाई
बिर्सेर पनि
साह्रै ठूलो गुन लगाएको छ माटाले त
टेक्ने छाती दिएर
सहने मन दिएर‘
प्रेम प्राप्तिमा हैन, अप्राप्तिमा अमर हुन्छ( यो व्यक्तिको निजी मनोदुनियाँको अनुभूति हो । ताराका थुप्रै कविता प्रेमिल अभिव्यक्तिको नागबेली बगेका छन् । समर्पणको भाव बोकेका ती कविताहरूभित्र प्रेमको एक उच्च आदर्श स्थापित छ ।
‘अँजुलीभरिका फूलहरू’ एक उत्कृष्ट प्रेम कविता हो । यसैगरी ‘प्रेमोपहार’, ‘अस्वीकृत उपहार’, ‘हटिया र स्मृति’, ‘धरहरा र मेरो प्रेम’ जस्ता कविताले प्रेमको आदर्श व्याकरणलाई समातेका छन् ।
आफ्ना निजी अनुभूतिलाई सार्वजनिक अनुभूतिसँग जोड्न सक्नुमा कविताको सामथ्र्य निहित छ । ताराले यो सामथ्र्य बोकेकी छिन् । राजधानी काठमाडौंको विषाक्त र अश्लिल प्रतिस्पर्धात्मक वातावरणभन्दा पर बसेर उनी आफ्नै लय, गति र शैलीमा कविता लेखिरहेकी छन् । कवितामा जीवनका विरोधाभाषहरू छिचोल्दै आदर्श र जीजिबिषाको लय निर्माण गरेकी छिन् ।
ताराका आगामी कतिताहरूले यो सङ्ग्रहका कतिपय अपूर्णतालाई सच्याएर सफलताको अर्को देउराली छुनेछन् भनेर अपेक्षा गर्नु भूल हुनेछैन । उनको सिर्जनाले एउटा उचाइ हासिल गरिसकेको छ ।
विम्ब निर्माणमा मौलिकताको पारख, विषयवस्तुको सटिक चयन, उन्नत चेतना र अभिव्यक्तिमा सम्प्रेष्यताजस्ता विशेषताहरुले तारा पराजुलीलाई नेपाली कविताको एउटा बलियो सम्भावना बनाइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस

दिप्रुङ चुइचुम्मामा काँग्रेस र समाजवादीका १५१ कार्यकर्ता नेकपामा प्रवेश

खोटाङः दिप्रुङ चुइचुम्मा गाँउपालिकाका नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका १५१ जना नेता तथा कार् ...

इट्टाको मूल्यमा व्यवसायीको मनपरि, सरकारको मौन स्वीकृति

इटहरीः भारतबाट आउने मजदुर कोरोना संक्रमणका कारण नेपाल आउन नपाउँदा नेपालमा सञ्चालित इट्टा उद्योगहरु म ...

शिक्षकको तलब नदिने विद्यालयको बैँक खाता रोक्का गरिने

इटहरीः मोरङको विराटनगरस्थित १ नम्बर प्रदेश श्रम कार्यालयले निजी विद्यालयहरुलाई शिक्षकले पाउनुपर्ने त ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved