एजेन्सीः प्रायः मानिसहरु प्याक गरिएका खानेकुरा बिग्रिएको हो कि होइन भनेर थाहा पाउन ‘एक्सपायरी डेट’ हेर्ने गर्दा झुक्किरहेका हुन्छन् । खानेकुराको मितिले के अर्थ दिन्छ भन्ने थाहा नपाइ त्यो खानलायक छैन भनेर अधिकांश मान्छेले फाल्ने गरेको हालै वेस्ट म्यानेजमेन्टले प्रकाशित गरेको अध्ययनमा जनाइएको छ जसले अमेरिकामा १ हजार बढी मानिसहरुमा सर्वेक्षण गरेको थियो ।

यसमा प्रायः ले ‘बेस्ट बाइ’ वा ‘सेल बाइ’ अर्थात उक्त उत्पादन सबैभन्दा राम्रो अवस्थामा हुने मिति सम्म मात्र खान मिल्छ भन्ने ठानेका हुन्छन् । धेरैले प्याकेजको सो मिति नजिक आइपुग्न लाग्दैखेरि त्यसलाई फाल्ने गर्छन । तर वास्तवमा त्यो लेबल उत्पादक कम्पनीले उपभोक्तालाई सो खानेकुरा कत्तिको ताजा छ भन्ने जानकारी गराउनका लागि आफैँले राखिदिएका हुन्।
अध्ययनका अनुसार उपभोक्ताहरुले प्याकेटमा लेखिएका विभिन्न मितिहरुलाई गलत बुझ्ने गरेकाले नै यस्तो हुने गर्दछ । जबकि कुनै पनि प्याकेटमा लेखिएको ‘बेस्ट बाइ’ मितिले सो खानेकुराको गुणस्तर वा स्वाद सो मितिसम्म सबैभन्दा उच्च स्तरमा हुन्छ भन्ने जनाउने जनेल गुडविन बताउँछिन ।

उनी ‘टेक्निकल इन्फरमेसन स्पेसलिस्ट’ हुन। त्यस्तै ‘सेल बाइ’ लेखिएको मितिले चाहिँ कति समयसम्म सो उत्पादन बिक्री गर्दा प्रदर्शनका लागि राख्न योग्य छ भन्ने बताउँछ । अन्त्यमा लेखिएको ‘युज बाइ’ को मितिले सो उत्पादन कुन समयसम्म सबैभन्दा स्वादिलो गरि खान सकिन्छ भन्ने थाहा दिन्छ । गुडविनका अनुसार यी मितिहरुले सो प्याकेज खानका लागि सुरक्षित छ या छैन भन्ने नदेखाएर केबल त्यसको गुणस्तर र ताजापनबारे मात्र बताइरहेका हुन्छन ।

तर पनि ४२ प्रतिशत मानिसहरुले युज बाइ र सेल बाइ लेखिएको लेबलका आधारमा खान योग्य छ कि छैन भन्ने निर्धारण गर्छन । विशेषगरी नगल्ने खानेकुराहरु धेरै लामो समयसम्म टिक्ने हुँदा ‘युज बाइ’ को मिति सकिसके पनि त्यसलाई खाँदा केही फरक नपर्ने बताइएको छ ।

यिनै कारण पछिल्लो समय धेरै कम्पनीहरुले उपभोक्ताको द्धिविधा हटाउनका लागि केबल दुईवटा मिति मात्र राख्न थालेका छन जसमा ‘बेस्ट इफ युज्ड बाइ’ अर्थात कतिन्जेल त्यो सबैभन्दा गुणस्तरीय र स्वादिलो अवस्थामा रहन्छ र अर्को ‘युज बाइ’ अर्थात छिटै गल्ने खानेकुराका लागि त्यो उपभोग गर्न सकिने अन्तिम मिति राखिएको हुन्छ ।

के हामीले मिति गइसकेको खानेकुरा फाल्नैपर्छ ?

गुडविनका अनुसार सबै प्याकेज मिति सकिँदैमा बिग्रिसक्यो भन्ने हुँदैन । घरमै स्टोर गरि राखिएको प्याकेजको मिति गइसके पनि त्यो अझै केही समयका लागि सुरक्षित नै हुन सक्छ । तर त्यसलाई फ्रिजमा वा व्यवस्थित तरिकाले राखेको हुनुपर्छ । धेरै प्याकेजहरु बिग्रिएको छ छैन भन्ने बाहिरबाट हेर्दा पनि थाहा हुन्छ ।
किनकि खाना कुहिँदा वा बिग्रँदा ब्याक्टेरियाले त्यसको रङ, गन्ध आदिमा परिवर्तन ल्याउँछ ।

तर त्यस्तो कुनै संकेत देखिएको छैन भने सो खानेकुरा ढुक्क भएर खान सकिन्छ । यसलाई अझ सुरक्षित रुपमा उपभोग गर्नका लागि सो खानेकुरालाई एकपटक पकाउन वा तताउँदा राम्रो हुन्छ जसले त्यसमा किटाणु भए नष्ट गरिदिनेछ । सामान्य अवस्थामा त्यस किसिमको खाना निर्धक्क रुपमा उपभोग गर्दा हुन्छ ।

के बिग्रन लागेको खानेकुरालाई फ्रिज गर्दा या जमाउँदा हुन्छ ?

खेर जान नदिनका लागि मासु, ब्रेडलगायतका खानालाई फ्रिज गरि राख्नु अर्थात् जमाउनु राम्रो उपाय हुन सक्छ । गुडिविनको सुझावअनुसार कुनै प्योकज हामीले एकपटकमा पूरै प्रयोग गर्न सक्दैनौँ वा बढी भए जस्तो लाग्छ भने त्यसलाई छिटै फ्रिज गर्दा उपयुक्त हुन्छ ।

गुडविनले भनेका छन्, “जतिबेला फ्रिज गरे पनि एकपटक जमिसकेपछि त्यो खानेकुरा बिग्रँदैन । तर यसमा जति चाँडो फ्रिज गर्यो त्यति नै त्यसको ताजापन र गुणस्तर रहिरहन्छ र फेरि तताउँदा फरक पर्नेछ । फ्रोजन खानेकुरा लामो समयसम्म सुरक्षित हुन सक्छ तर समय बित्दै जाँदा त्यसको गुणस्तर र स्वाद भने घट्दै जानेछ ।”
त्यस्तै जमेको खानेकुरालाई पगाल्न बाहिर राख्नुभन्दा पहिले त्यसलाई फ्रिजमा राखि केही समयपछि तताएर खाँदा राम्रो हुन्छ ।

व्यवहारिक रुपमा पास्ता, स्न्याक्स, क्यान भित्रका खानेकुरा र बेक गरिएका खानेकुरा धेरै लामो समयसम्म सुरक्षित राख्न सकिन्छ । तर तिनको स्वाद भने सधैँ उस्तै नरहन सक्छ । जस्तै नखोलिएको क्यानको बट्टा धेरै समय राख्दा पनि त्यसमा केही फरक पर्दैन तर पास्ता जस्ता खानेकुराको स्वादमा समयसँगै भिन्नता आउनेछ । टाइम