इटहरीः आज सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवस ‘पर्यटन र ग्रामीण विकास’ भन्ने मूल नाराका साथ नेपालमा पनि मनाइँदैछ । यसै अवसरमा प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियैतले सम्पूर्ण प्रदेशवासीहरुमा शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा उनले ग्रामीण क्षेत्रका पर्यटकीय स्थल तथा अन्य पर्यटकीय आकर्षणको पहिचान,प्रोत्साहन,प्रवद्र्धन र प्रचार गर्न सके नेपाली पर्यटन उद्योग अझै माथि उक्सिने विश्वास व्यक्त गरेका छन् । “संमृद्घ नेपाल – सुखी नेपाली” को राष्ट्रिय दृष्टिकोण आत्मसात गरी, दिगो विकास लक्ष्य(सन्२०१६–२०३०) अघि सार्दै जनभावनासँग आवद्घ प्रदेश १ सरकारले विकास गरेको दीर्घकालीन सोच “स्वच्छ,सुखी र समुन्नत प्रदेश” लाई कार्यान्वयन गर्न महत्वपूर्ण खाका तयार गरेको उनको भनाइ छ ।

नेपाल सरकारले पहिचान गरेका १०० वटा प्रमुख पर्यटकीय स्थलमध्ये १६ वटा यसै प्रदेशमा पर्ने भन्दै उनले प्रदेशका प्रत्येक जिल्लाको फरक पर्यटकीय पहिचान समेत रहेको उल्लेख गरेका छन् । पर्यटकीय गन्तव्यहरुको पहिचान र प्रवद्र्धन, पर्यटन सेवाको व्यवसायीकरण र स्तरोन्नति, पर्यटनको ब्रान्डिङ, एकीकृत पर्यटकीय विकास,भोजपुर– खोटाङ मन्धुम पदमार्ग र संघीय सरकार अनि अन्य प्रदेश सरकारसँगको सहकार्यमा प्रस्तावित ताप्लेजुङदेखि दार्चुलासम्मको हिमाली पदमार्ग निर्माणजस्ता नीति तथा कार्यक्रम प्रदेश १ सरकार उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयले तय गरेको उनको जिकीर छ ।

गत वर्षबाट विश्वभर फैलिएको कोभिड–१९महामारीका कारणबाट नेपाल भ्रमण वर्ष २०२० स्थगन गर्नुपरेको बताउँदै उनले अबको पर्यटन विकासलाई कसरी बढावा दिने साथै नयॉ प्याकेजहरुको बारेमा सरोकारवालाहरुसँग परामर्श र सहकार्य गरी एउटा ठोस निर्णय गर्नुपर्ने व्यवस्थाको आफूले पहल गरिरहेको बताएका छन् ।