इटहरीः ६ वर्षदेखि कोमामा रहेका भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको आज आइतबार नयाँदिल्लीस्थित आर्मी अस्पतालमा निधन भएको छ ।
बाथरुममा लडेपछि टाउकोमा लागेको चोटका कारण कोमामा रहेका उनको ८२ वर्षको उमेरमा निधन भएको हो । भारतीय सेनाका अवकाशप्राप्त मेजरसमेत रहेका सिंहले भारतीय जनता पार्टीबाट पटक पटक सरकारमा मन्त्री बन्ने अवसर पाएका थिए ।
उनको निधनको खबर थाहा पाएलगत्तै भारतीय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै ‘जसवन्त सिंहले हाम्रो मुलुकको सेवा दत्तचित्तका साथ निभाउनुभयो । पहिले उहाँले सैनिकका रुपमा पछि लामो समय राजनीतिमाफर्त देशको सेवा गर्नुभयो । अटलजीको सरकामा उहाँले महत्वपूर्ण विभाग सम्हाल्नुभयो र अर्थ, रक्षा र विदेश मामिलामा विश्वमै एक बलियो छाप छोड्नुभयो । उहाँको निधनबाट दुःखी छु ।’ भनी ट्वीट गरेका छन् ।
सन् २००४ देखि २००९ सम्म माथिल्लो सदन राज्यसभामा प्रतिपक्षी दलको नेतृत्व गरेका सिंह २००९ मा दार्जिलिङबाट लोकसभामा निर्वाचित भएपनि २०१४ मा भएको चुनावमा पार्टीबाट टिकट नपाएर स्वतन्त्र चुनाव लडेकोमा बारमेर–जैसलमेर क्षेत्रबाट हार व्यहोर्नुका साथै पार्टीबाट समेत निकालिएका थिए ।