इटहरीः बढ्दो कोरोना संक्रमणको दर प्रदेश १ को स्वास्थ्य प्रणालीका लागि चुनौति बन्न थालेको छ ।
संक्रमितको संख्या अस्वभाविक रुपमा बढ्दै जाँदा गम्भीर बिरामीको उपचारका लागि भेन्टिलेटर तथा अक्सिजनका साथै अस्पतालमा शैय्यासमेत अभाव हुन थालेको छ । विराटनगरमा भएका करिब एक सय २० भेन्टिलेटरमध्ये कोभिड उपचारका लागि छुट्याइएका २१ ओटा भेन्टिलेटर हिजो आइतबार नै भरिएपछि अवस्था भयावह भएको हो । गम्भीर लक्षणका कारण भेन्टिलेटरको आवश्यकता बढिरहेकोमा आवश्यकता अनुसार भेन्टिलेटर उपलब्ध गराउने अवस्था नरहेको भन्दै चिकित्सकहरुले चिन्ता प्रकट गरेका छन् ।
विराट कोभिड अस्पतालका चिकित्सक डा.स्वस्तिक कोइरालाका अनुसार हाल बेड अभावमा गम्भीर अवस्थाका बिरामीलाई समेत घरमै अक्सिजन दिएर राख्नुपर्ने अवस्था रहेको छ । उनले भर्नाका लागि बेड खालि भएपछि मात्र अस्पतालले बिरामीलाई बोलाउने गरेको बताए । आइसीयू र भेन्टिलेटरका लागि दैनिक ५०–६० जनाले सम्पर्क गर्ने गरेको बताउँदै उनले अस्पतालले भने अक्सिजनसमेत दिन नसकेको उल्लेख गरे । प्रदेश सरकारले सञ्चालनमा ल्याएको कोसी कोभिड १९ उपचार केन्द्रमा १० शैय्याको आइसियु छ भने पाँच ओटा भेन्टिलेटर राखिएको छ ।
यस्तै विराट अस्पतालको कोभिड उपचार केन्द्रमा विराटनगरकै सबैभन्दा धेरै १८ शैय्याको आइसियू सञ्चालनमा रहेको छ । नोबेल मेडिकल कलेजले सञ्चालन गरेको कोभिड उपचार केन्द्रमा ९ शैय्याको आइसियु र चारवटा भेन्टिलेटर छ । न्यूरो अस्पतालको कोभिड १९ उपचार केन्द्रमा ७ शैय्याको आइसियू छ । कोभिडका बिरामीको उपचारका लागि विराटनगरमा जम्मा ४४ शैय्या आइसियू सञ्चालन गरिएको छ, जुन सक्रिय संक्रमित संख्याको आधारमा न्यून भएको चिकित्सकहरुको भनाइ छ । विराट मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले धरान,इनरुवा,इटहरी लगायतका ठाउँबाट आइसीयू र भेन्टिलेटरको माग हुने गरेकोमा आफूले सो अनुसार व्यवस्था गर्न नसकेको बताए ।
नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले सुनसरीका वरिष्ठ पत्रकार कृष्ण अधिकारीलाई स्वासप्रस्वासमा समस्या आएकोमा आइतबार बिहानदेखि साँझसम्म इटहरी र विराटनगरका कुनै अस्पतालमा अक्सिजनमा राख्ने व्यवस्थासमेत गर्न नसकेको बताए ।
आइतबारसम्म प्रदेश १ मा ५ हजार सात सय ९५ जना सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये ४ हजार आठ सय ३५ जना होम आइसोलेसनमा बसिरहेका छन् । कोभिड संकट व्यवस्थापनमा प्रदेश सरकारले देखाएको उदासिनताका कारण भेन्टिलेटरको संख्या बढाउन समस्या भएको छ । विराटनगरमा भएका एक सय २० मध्ये ५० भेन्टिलेटर कोभिड उपचारमा प्रयोग गर्न सकिने भएपनि सरकारले त्यसतर्फ कुनै चासो नदेखाएको सरोकारवालाको भनाइ छ । न्युरो अस्पतालका कोभिड सेन्टर संयोजक अजित बस्नेतले अस्पतालमा हाल सात आइसीयू र दुई भेन्टिलेटर रहेकोमा सरकारको अनुमति पाए संख्या बढाउन सकिने बताए ।
अन्य अस्पतालले भने तत्काल आइसीयू र भेन्टिलेटर थप गर्न सक्ने अवस्था नरहेको बताएका छन् । संक्रमण नियन्त्रणमा प्रमुख भूमिकामा रहेको प्रदेश सरकारको सामाजिका विकास मन्त्रालयले अपेक्षा अनुसार काम गर्न सकेको छैन । मन्त्रालयको सुस्त कार्यशैलीका कारण एक हजार बेडको आइसोलेसन सेन्टर बनाउने मन्त्रालयको योजना पनि अलपत्र परेको छ ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेका प्रमुख स्वकीय सचिव तिलक बस्नेतले पछिल्लो अवस्थाको विश्लेषण गरी त्यसको व्यवस्थापन गर्न मन्त्रालयले कोभिड क्राइसिस मेनेजमेन्ट कमिटीको बैठकमा विशेष प्रस्ताव लैजाने तयारी गरेको बताए ।