पोखराः प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् ।

लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत गतिविधिबाट वञ्चित भएकाहरुलाई आकाशमा उड्न सस्तो कार्यक्रम ल्याइएको छ । कम्पनीहरुले लामो समयको बन्दाबन्दी खुलेसँगै गत असोज १५ देखि व्यावसायिक उडान सुरु गरेका थिए । बाह्य पर्यटकको आगमन शून्य भएका अवस्थामा आन्तरिक पर्यटकबाटै पर्यटकीय गतिविधिलाई चलायमान बनाउन नाफा नहेरी उडानलाई निरन्तरता दिइएको नेपाल हवाइ खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । उनले भने, ‘हामीले पर्यटकीय गतिविधि भएको छ भन्ने सन्देश दिनमात्र खोजेका हौँ, त्यसैले घाटा नै भए पनि प्याराग्लाइडिङ सुरु हौँ । अहिले दैनिक पोखरा र वरपरका करिब दुई सय आन्तरिक पर्यटकले उडान गर्नुभएको छ ।’ उनले अहिले पर्यटकीय मौसम भए पनि कोरोनाले ठप्प भएका अवस्थामा सस्तो कार्यक्रममार्फत् आन्तरिक पर्यटकलाई जोड दिएर उडान गरिएको बताए । 

आन्तरिक पर्यटकको चहलपहलले थौरै भए पनि व्यावसायिक उडानप्रति आशा जगाउँदै लगेको उनको भनाइ छ । उनका अनुसार अहिले सहुलियत दरमा तीन हजारमा उडान गरिएको छ । पहिले सात हजार ५०० मा हुने गरेको थियो । कोरोनाको उच्च जोखिमलाई ध्यान दिँदै स्वास्थ्य सतर्कतासहित प्याराग्लाइडिङ कम्पनीको अनुगमनसमेत गरेर ‘सेफ्टी र सेक्युरिटी’लाई समेत ध्यान दिइएको भण्डारीले बताए । हिमालय स्काइ एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीका सञ्चालक एवम् पाइलट माधव तिवारीले अहिले १५ देखि ३५ वर्षसम्म उमेरका युवाले उडानमा बढी रुचि राखेको बताए । विशेषगरी कलेजका विद्यार्थी, कर्मचारी, व्यवसायीलगायत पारिवारिकरुपमा समेत उडानका लागि आउने गरेको उनको भनाइ छ ।

नेपाल हवाइ खेलकुद संस्थाको सचिव तिवारीका अनुसार उडान गर्नेहरुमा कास्कीका ८० र २० प्रतिशत पोखरा नजिकका जिल्लाबाट आउने गरेका छन् । यसअघि दैनिक करिब पाँच सय उडान हुने गरेकामा अहिले आन्तरिक पर्यटक मात्रै दैनिक करिब दुई सयले उडान गर्ने गरेको उनको भनाइ छ । पोखरामा हवाइ खेलकुद संस्थाबाट प्याराग्लाइडिङ उडान अनुमति लिएका ३३८ प्यारापाइलट छन् जसमा १२ महिला छन् । बन्दाबन्दी अगाडिसम्म १०–१२ विदेशी प्यारापाइलट यस क्षेत्रमा थिए भने अहिले नेपाली मात्रै छन् । पोखरामा ६० प्याराग्लाइडिङ कम्पनी छन् । यस क्षेत्रमा करिब एक अर्बको लगानी छ । (रासस)