इटहरीः बडादसैँअन्तर्गत नवरात्राको छैटौं दिन आज विहीबार घर–घरमा कात्यायनी माताको पूजा गरी मनाइँदैछ ।

यस दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । दशैंमा नौ दिनसम्म शक्तिपीठ तथा दशैंघरमा पूजा अर्चनासहित दूर्गा भगवतीको स्तोत्र पाठ गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुस्माण्डा, पाँचौ दिन स्कन्द माता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गरी दसैँमा शक्ति पूजा गर्ने प्रचलन छ । कात्यायनीलाई साहसको प्रतिक मानिन्छ ।

दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने अवरोध रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ । कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास रहेको पाइन्छ । धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचिन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रुपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायनी रहन गएको कथन छ । तिनै कात्यायनीले महिशासुरको बध गरेको शास्त्रीय मान्यता रहेको छ ।

कात्यायन ऋषिकी पुत्री कात्यायनी नामले लोकमा प्रसिद्ध भएकी हुन् । उनले हातमा चम्किलो खड्ग धारण गरेकी छन्, उनको यो शस्त्रलाई चन्द्रहास खड्ग भनिन्छ । अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको बध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ । देवी कात्यायनी मातालाई पार्वतीको सौर्य अवतार मानिन्छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष कोरोना महामारीका कारण मन्दिरहरु बन्द छन् ।