इटहरीः बडादसैँको सातौँ दिन आज घर घरमा फूलपाती भित्र्याएर मनाइँदै छ ।

नेपाल पञ्चाङग निर्णायक समितिले बिहान ७ बजेर २५ मिनेटमा तुलजा भवानीको यात्रा र तुलजा भवानीलाई स्थिरासनमा राख्न बिहान ८ बजेर ४३ मिनेटमा साइत रहेको जनाएपनि फूलपाती भित्र्याउन भने कुनै साइत नचाहिने जनाएको छ । सप्तमीका दिन घरघरमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक फूलपाती भित्राइन्छ ।

आजकै दिन हनुमानढोकास्थित दसैँघरमा पूजारीसहित फूलपाती ल्याउने र भित्रयाउने चलन छ । फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म मगर जातिका छ जना र त्यहाँबाट काठमाडौंको जमलसम्म छ जना ब्राह्मणले ल्याइंदै छ । यस वर्ष कोरोना महामारीका कारण दसैं विगत जस्तो हर्षोल्लासपूर्वक मनाउन सक्ने अवस्था छैन । सरकारले बसेकै ठाउँमा सुरक्षित ढंगले स्वास्थ्य मापदण्डको पालना गर्दै सावधानीका साथ दसैं मनाउन सबैमा आग्रह गरेको छ । कोरोनाको संक्रमणबाट जोगिन सुरक्षित साथ दसैं मनाउन सबैमा सरकारले आग्रह गरेको हो ।