लन्डन(यूके)ःआदिवासी जनजाति समुदायको मौलिकताको पक्षमा विद्रोह गर्दा सहादत प्राप्त गरेको भन्दै यूकेका अभियन्ताहरूले रामलिहाङ र रिदामा आठपहरियाको स्मरण गरेका छन् । १५४ औँ रालिहाङ र रिदामा स्मृति दिवसका अवसर पारेर अभियन्ताहरूले उनीहरूलाई सम्झेका हुन् ।
तत्कालीन जङ्गबहादुर राणाको शासनकालमा धनकुटाका रिदामा र रामलिहाङ आठपहरियालाई दसैँ पर्व नमानेको अभियोगमा मृत्युदण्ड दिइएको थियो । आठपहरिया समुदायमा अझै पनि दसैँ पर्व नमान्नेको बाहुल्यता छ । उनीहरू बैशाख पूर्णिमा, भदौ पूर्णिमा र कात्तिक पूर्णिमाका दिन आफ्नो चाड धूमधाम मनाउने गर्छन् । ‘दसैँ तत्कालीन समयमा आदिवासी समुदायमा शाषकहरूबाट जबर्जस्त ढङ्गले लादिएको हो,’ चाम्लिङ खाम्बातिमका पूर्व अध्यक्ष पदम राईले बताए, ‘यसको अवज्ञा गर्दा तत्कालीन समयमा रामलिहाङ र रिदामा मारिएका हुन् ।’ उनले दसैँ आदिवासी समुदायको मौलिक पर्व नभएको भन्दै नेपालमा राजनीतिक स्वार्थका कारण राष्ट्रिय पर्व करार गरिएको आरोप लगाए ।

IMG_20201026_134742
कोरोना महामारीका कारण सीमित सङ्ख्यामा उपस्थित भएर आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रमा बोल्दै चुम्लुङ यूकेका सचिव विश्वासदीप तिगेलाले आदिवासी समुदायको साँस्कृतिक विद्रोहका प्रतीकका रूपमा उनीहरूलाई स्मरण गरेको बताए । ‘सम्भवतः रामलिहाङ र रिदामा नेपालका पहिलो साँस्कृतिक सहिद हुन सक्छन्,’ तिगेलाले थपे, ‘आदिवासी समुदायको पहिचानलाई जोगाउन उनीहरूले सहादत दिए ।’ उनले आदिवासी समुदायका धेरै जातिहरू अझै पनि दसैँ नमान्ने गरेको चर्चा गरे । यसैगरी, लिम्बु पत्रकार सङ्घका अध्यक्ष अमित थेवेले रामलिहाङ र रिदामालाई अझै पनि आदिवासी समुदायले साँस्कृतिक चेतको विम्बका रूपमा लिने गरेको जिकिर गरे । ‘आठपहरिया समुदायमा मात्रै नभएर उनीहरू अन्य गैरहिन्दू आदिवासी समुदायमा पनि विद्रोहका विम्बका रूपमा स्मरण गरिन्छन् ।’ उनले भन् । उनले सन् १८६७ मा धनकुटाको चुलीवनमा हत्या गरिएका आठपहरियाहरू होम्बारक थरका वंशजहरू भएको बताए । अर्का सहभागी लिम्बुवान नागरिक समाज यूकेका उपाध्यक्ष नवराज काम्वाङले सुब्बाङ्गी प्रथा र गोरखा भर्ती केन्द्रका कारण धेरै याक्थुङ समुदायमा दसैँको प्रभाव परेको धारणा राखे ।
यसैगरी, सोमबारका दिन धनकुटाको चुलीवनमा रहेको रामलिहाङ र रिदामाको शालिकमा स्मृति सभा कार्यक्रम राखेर माल्यार्पण गरिएको आदिवासी अधिकारकर्मी निमा पोङ्सुवाले बताए । दुई दर्जन बढीको सहभागितामा भएको कार्यक्रममा रामलिहाङ रिदामा स्मृति पार्कस्थित शालिकमा श्रद्धाञ्जली अर्पण गरिएको उनले जानकारी दिए । गत साल पनि यूकेमा उनीहरूको स्मृतिमा कार्यक्रम राखिएको तिगेलाले बताए । उनीहरूलाई प्रत्येक वर्ष दसैँको टीकाका दिन स्मरण गरिने जनाए ।