इटहरीः आज बडादसैँको तेस्रो दिन । मान्यजनबाट जमरा र टिका लगाई आशीर्वाद लिने क्रम जारी रहेको छ ।

दशमी तिथिका दिन टिका ग्रहण गरेपछि पूर्णिमाका दिनसम्म टाढा(टाढा रहेका परिवारजन तथा आफन्तकहाँ गई टिका लगाउने कार्यलाई निरन्तरता दिने चलन छ । सोही अनुसार घटस्थापनाका दिन दसैँघरमा विधिपूर्वक स्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजाआराधना गरिएको टीका र प्रसाद अग्रजको हातबाट आशीर्वादका साथ ग्रहण गर्ने क्रम आज पनि जारी छ ।

टिका लगाएर आशीर्वाद ग्रहण गरे सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ । ठूलाले सानालाई टीका लगाई आशीर्वाद दिने दसैंलाई आपसी सद्भाव मित्रता र पारस्परिक सम्बन्ध अभिवृद्धिको पर्वका रुपमा लिने गरिन्छ ।