इटहरीः कोरोना भाइरसको दोस्रो लहरबाट युरोपेली देशहरु आक्रान्त बनेका छन् ।
एक साताको अवधिमा युरोपभर ४० प्रतिशत संक्रमण बढेको विश्व स्वास्थ्य संगठनलाई उदृत गर्दै बीबीसीले जनाएको छ । बीबीसीका अनुसार यो साता गत हप्ताको तुलनामा ४० प्रतिशत बढी मानिसमा संक्रमण देखिएको छ । विश्व स्वास्थ्य सङ्गठनकी प्रवक्ता डाक्टर मार्गरेट ह्यारिसले फ्रान्स, स्पेन, युके, द नेदल्र्याण्डस् र रुसमा धेरै सङ्क्रमित देखिएको बताइन् ।
संक्रमितको संख्या एक तिहाइले वृद्धि भएको ह्यारिसको भनाइ छ । युरोपमा सबैभन्दा धेरै संक्रमित भएको रुसमा पछिल्लो २४ घण्टामा तीन सय २० जनाले ज्यान गुमाएका छन् । योसँगै यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या २६ हजार पाँच सय ८९ पुगेको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा ३३ हजार चार सय १७ जनामा संक्रमण पुष्टि भएको छ भने पाँच सय २३ जनाको मृत्यु भएको छ । स्पेनले नियन्त्रणका लागि कडा प्रतिबन्धको घोषणा गरिसके पनि संक्रमण रोकिएको छैन । त्यहाँ पछिल्लो २४ घण्टामा १८ हजार चार सय १८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बेलायामा २२ हजारभन्दा बढी इटालीमा २१ हजार नौ सय ९४ र जर्मनी १३ हजारभन्दा बढी नयाँ संक्रमितको पहिचान भएको छ ।
बेल्जियमका अस्पतालहरूमा संक्रमितको चाप बढेपछि त्यहाँ सङ्क्रमित चिकित्सकलाई पनि नियमति काम गर्न सरकारले आग्रह गरेको छ । बेल्जियममा पछिल्लो २४ घण्टामा १२ हजार ६८७ जनामा संक्रमण पुष्टि भएपछि संक्रमित संख्या ३ लाख ३३ हजार सात सय १८ पुगेको छ । विश्वभरका कोरोना संक्रमितको अभिलेख राख्ने वेबसाइट वल्र्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा युरोपमा दुई लाख २३ हजार एक सय ९२ जनामा संक्रमण पुष्टि भएको छ भने दुई हजार सात सय ५७ जनाले ज्यान गुमाएका छन् । (एजेन्सी)