लन्डन (जीएनएन)ः बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयले उत्पादन गर्दै आएको कोरोना भ्याक्सिनले सफलता प्राप्त गर्ने संकेत मिलेको छ। अक्सफोर्ड विश्वविद्यालयले जनाएअनुसार उसले उत्पादन गरेको भ्याक्सिनले मानिसमा प्रतिरक्षात्मक क्षमता बढाऊने गरेको जनाईएको छ। यद्यपि पहिलो चरणमा परिक्षण गरिएको भ्याक्सिनले बढाऊने गरेको प्रतिरक्षात्मक क्षमताको नतिजा भने सार्वजनिक गरिएको छैन।

विश्वविद्यालयद्वारा मंगलवार गरिएको पत्रकार सम्मेलनमा भनिएको छ, हामीले जसलाई कोरोनाको भ्याक्सिन लगाई दिएका छौं उनीहरुमा प्रतिरक्षात्मक क्षमता गुणात्मक रुपमा विकसित हुँदै आएको छ। अक्सफोर्ड विश्वविद्यालयले बेलायतमा औषधि उत्पादन गर्दै आईरहेको कम्पनी एस्ट्राजेनेकासंगको सहकार्यमा भ्याक्सिन उत्पादन गर्दै आईरहेको छ।

सो विश्वविद्यालयका प्रोफेसर एन्ड्र्यु पोलार्डले एक रिसर्च कन्फ्रेन्समा भने, -पछिल्लो पटक परिक्षण गरिएको कोरोना भ्याक्सिनले सकारात्मक नतिजा ल्याएको छ, यसबाट हामी उत्साहित पनि भएका छौं। उमेर बढ्दै जांदा शरीरको रोग प्रतिरोध क्षमता घट्दै जान्छ, कोभिडका कारण मृत्यु हुनेहरुमा ६० वर्ष माथिका मानिसहरु बढी छन्। तर अहिले अक्सफोर्डले बनाउंदै गरेको खोपले वृद्ध मानिसहरुको शरीरमा प्रतिरोधी प्रतिक्रिया विकास गरेको खबरलाई सकारात्मक मानिएको छ।
अक्स्फोर्ड विश्वविद्यालयका तर्फबाट जारी विज्ञप्तीमा भनिएको छ, -प्रोफेसर पोलार्डले दोस्रो चरणको सुरक्षा एवं प्रतिरक्षा प्रणालीको बारेमा चर्चा गरेका छन, यो दोस्रो चरणमा बेलायतका ७० बर्षभन्दा माथीका नागरिकमा यसको परिक्षण गरिसकिएको छ र एस्ट्राजेनेका भ्याक्सिन तेस्रो चरणको परिक्षणको लागि पनि तयारी हुंदैछ।

विश्वमा भ्याक्सिन बनाऊने दौडमा अक्सफोर्डले उत्पादन गर्दै आईरहेको भ्याक्सिन सबैभन्दा पहिला बनेको हो र यो भ्याक्सिन छिट्टै बजारमा आउने विश्वास ब्यक्त गरिएको छ। औषधि उत्पादन गर्ने कम्पनी एस्ट्राजेनेका प्रवक्ताले भने, हाम्रो उत्साह बढिरहेको छ।
हामीले उत्पादन गरेको भ्याक्सिनले युवादेखि वयस्कसम्मलाई समान रुपमा प्रभाव पारिरहेको छ। यतिमात्र होईन यो भ्याक्सिन लगाईसकेपछि वृद्धबृद्धाहरुमा कोरोनाको दुष्प्रभाव पनि कम हुँदैगईरहेको छ। यसप्रकारको नतिजाले भ्याक्सिन सुरक्षित एवं प्रभावकारी हुने दिशामा अंघि बढिरहेको पुष्टि हुन्छ। अक्सफोर्डले उत्पादन गरेको यो भ्याक्सिनले परिक्षणको अन्तिम चरण पार गर्नै लागेको हुँदा यसको नतिजा पनि छिट्टै सार्वजनिक हुने जनाईएको छ।

एस्ट्राजेनेकाले कोरोना भ्याक्सिन सप्लाईको लागि विभिन्न देशहरुसंग सम्झौता पनि गरिसकेको छ। बेलायतका स्वास्थ्यमन्त्री म्याट हैनककले सन् २०२१ को शुरुवातसंगै बजारमा कोरोनाविरुद्धको भ्याक्सिन आउने सम्भावना रहेको बताएका छन्। अहिलेसम्म संसारभरी कोभिड(१९ संक्रमणका कारण ११ लाख ५० हजार भन्दा बढी मानिसहरुको ज्यान गैसकेको छ।