इटहरीः झापाको बिर्तामोडस्थित द हिमालयन माउन्ट बाइकको सहयोग तथा लिंक्स पेडल नामक संस्थाको आयोजनामा १३ जना साइकलयात्री सम्मिलित टोलीले ताप्लेजुङको सुकेटारदेखि इलामसम्मको साइकल यात्रा सम्पन्न गरेको छ ।

साइकल कुदाऔँ स्वस्थ रहौँ भन्ने नाराका साथ सम्पन्न साइकल यात्रामा सहभागीहरुले पहाडको नागबेली सडकका साथै इलामको चियाबारीलगायतका क्षेत्र छिचोल्दै दुई सय ३० किलोमिटर यात्रा गरेका थिए । यो साइकल यात्राले इलामको पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान गर्न सक्ने देखिएको छ ।

घोडचढीका लागि टाढाटाढाबाट पर्यटकहरु आउने गरेको इलाममा साक्लिङलाई पनि व्यावसायिक पर्यटन खेलका रुपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको छ । कोरोना महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्रलाई गति प्रदान गर्न आफूहरुले प्रयास गरेको साइकलयात्रामा सहभागीहरुले बताएका छन् । पहाडमा साहसिक साइकल यात्राका लागि राम्रो सम्भावना भएकाले यात्रा रोमाञ्चकसमेत भएको यात्रुहरुको भनाइ छ ।