इटहरीः इटहरीका होटल सञ्चालकले राति ८ बजेसम्म मात्र होटल खोल्न दिन भनेर प्रशासनले लागू गरेको नियम व्यवसायीको हित विपरित भएको बताएका छन् । यो समयमा ग्राहकको चहलपहल बढि हुने तर आफूले चाहेको समयसम्म होटल खोल्न नपाउँदा मारमा परेको व्यवसायीले गुनासो गरेका छन् । साथै अधिकांश व्यवसायीले ६ महिनासम्म ठप्प भएको होटल व्यवसाय अहिले पनि मज्जाले चलाउन नपाउँदा दुख लागेको बताएका छन् ।

इटहरीको पश्चिम लाइनमा होटल सञ्चालन गर्दै आएका रुपेश दाहालले दशैँ तिहारको समयमा ग्राहक बढि आउने भएको तर प्रशासनले ८ बजे नै होटल बन्द गर्न लाउँदा मारमा परेको बताए । ‘इटहरीमा होटल व्यवसाय सञ्चालन गर्न अहिलेको समयमा एकदम गाह्रो छ । यो समयमा इटहरीमा आन्तरीक पर्यटक आउने समय हो तर ८ बजे नै होटल बन्द गर्न लगाउँदा ग्राहकसँगै हामी पनि मारमा परेका छौँ । अब ८ बजे होटल बन्द भइहाल्छ बाहिर आएको ग्राहकलाई पनि के भएर बन्द भएको भन्ने लाग्छ’, उनले भने । साथै उनले ६ महिनासम्म घरमा बस्दा आर्थिक भार बढेको र यो समयमा त्यो भार घटाउने आशा गरेपनि प्रशासनको नियमले प्रभाव पारेको बताए ।

hotel 2

‘६ महिनासम्म हामी घरमा नै बस्यौँ । होटल त ठप्पै भयो । हामीलाई त्यो समयको घर भाडा, बैँकको ऋण र सरकारको करले अहिले गाह्रो भइरहेको छ । त्यती हुँदा पनि हामी अहिले त्यो कुरालाई कम गर्न सक्छौँ भनेर आश गरिरहेका थियौँ तर परिस्थिति उल्टो भयो’, उनले भने । साथै उनले रातको समयमा बन्द गर्दा कोरोना कम नहुने भन्दै यसरी होटल व्यवसायीलाई समस्यमा पर्दा कोरोना रोकथाम नहुने जिकिर गरे ।

उनि जस्तै इटहरीका विगत २५ वर्षदेखि होटल सञ्चालन गर्दै आउनुभएका कृष्ण निरौलाले ८ बजे नै होटल बन्द गर्न प्रशासनले बनाएको नियमले होटल व्यवसायलाई सबैभन्दा बढि क्षति पुर्याएको बताए । ‘यो ६ महिना लकडाउनले होटल व्यवसायीलाई धेरै ठूलो क्षति पुर्याएको छ । हामीले कल्पना नै गर्न नसक्ने गरि होटल व्यवसाय खस्किएको छ । अझ यो ८ बजेको निर्णयले हामीलाई थप धारासायी बनाएको छ । प्रशासनको नियमप्रति हामी होटल व्यवसायी सहमत छैनौँ’, उनले भने । साथै उनले होटल व्यवसाय चल्ने मुख्य समय भनेको विहानको ९/१० बजे र राति ७/८ बजे भएकाले यो नियम हटाउन अनुरोध गरे ।

hotel 3