इटहरीः फिलिपिन्समा शक्तिशाली सामुन्द्रीक आँधीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ।
आँधीका कारण एक करोड भन्दा धेरै मानिस प्रभावित भएका छन् । दुई सय २५ किलोमिटर प्रतिघण्टाको वेगसहित आएको आँधी क्याटानडुएस टापुमा ठोक्किएको थियो । फिलिपिन्सको राष्ट्रिय विपद् व्यवस्थापनले आँधीका कारण तीन करोड दश लाख भन्दा बढी मानिस प्रभावित भएको जनाएको छ । विपद व्यवस्थापन अधिकराी मार्क टिम्बलले भने ‘ आधीका कारण ३ करोड १० लाख भन्दा बढी मानिस बाढी, हावाहुरी, पहिरो लगायतको जोखिममा छ ।’
सन् २०१३ मा छ हजार व्यक्तिको ज्यान लिएको हैयानपछिको यो नराम्रो समुद्री आँधी भएको अधिकारीहरूले जनाएका छन् । आँधीका कारण सम्पर्क विच्छेद भएको क्याटानडुएस टापुमा पर्ने भिराक नगरका करिब ७० हजार नागरिकको अवस्था नाजुक रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यले उल्लेख गरेका छन् ।
आँधीका कारण क्वेजोन प्रान्तका १० वटा शहरमा विद्युत आपूर्ति अवरुद्ध भएको छ। फिलिपिन्समा हरेक वर्ष औसतमा २० वटा जति आँधी आउने गरेको बताइन्छ । तर यो वर्ष कोरोनाभाइरस महामारीका कारण पूर्वतयारी पनि प्रभावित भएको अधिकारीहरू बताउँछन् । आँधीले पुर्याउन सक्ने मानवीय क्षतिलाई ध्यानमा राख्दै तीन लाख ४७ हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । -एजेन्सी