इटहरीः मेची करिडोरअन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङ सडक स्तरोन्नतिको ठेक्का सम्झौता अन्त्य गरिएको छ। ९.५ किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का पाएको निर्माण व्यवसायीले पटक–पटक म्याद थप गर्दा पनि अपेक्षाअनुसार काम गर्न नसकेपछि सडक डिभिजन कार्यालय इलामले सम्झौता तोडेको हो।
२७ करोड २२ लाख रुपैयाँ लागत रहेको उक्त आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, निर्धारित समयभित्र काम पूरा नभएपछि पटक–पटक म्याद थप गरिएको थियो। त्यसका बाबजुद आयोजनाको भौतिक प्रगति ४७ प्रतिशतमा सीमित रह्यो।
पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम मात्रै भौतिक प्रगति भएपछि ठेक्का सम्झौता अन्त्य गर्ने निर्णय गरिएको सडक डिभिजन कार्यालय इलामले जनाएको छ। लामो समयदेखि अलपत्र अवस्थामा रहेको सडक निर्माणलाई अघि बढाउन अब नयाँ ठेक्का प्रक्रिया सुरु गरिने भएको छ।
सडक डिभिजन कार्यालय इलामले आर्थिक वर्ष २०८१/८२ देखि हालसम्म १२ वटा ठेक्का सम्झौता अन्त्य गरिसकेको छ। सम्झौता अन्त्य गरिएका आयोजनासँग सम्बन्धित निर्माण व्यवसायीबाट पेस्कीबापतको दुई करोड ३८ लाख रुपैयाँ असुल गरिएको छ।
त्यस्तै, निर्माण कार्यमा लापरबाही गर्ने व्यवसायीको ६ करोड ७९ लाख रुपैयाँ बराबरको कार्यसम्पादन जमानत जफत गर्न सम्बन्धित बैंकलाई पत्राचार गरिएको कार्यालयले जनाएको छ।
ठेक्का सम्झौता अन्त्य गरिएको बेलासे–गोलाखर्क भञ्ज्याङ सडक खण्डको निर्माणलाई निरन्तरता दिन आवश्यक स्रोत सहमति र बहुवर्षीय ठेक्का सहमति प्राप्त गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाइने भएको छ।
मेची करिडोरअन्तर्गतको यो सडक खण्डको स्तरोन्नति सम्पन्न भएपछि स्थानीय बासिन्दाको आवागमन सहज हुनुका साथै क्षेत्रीय सडक सञ्जालको विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।




















