काबुलः अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयमा आतंकवादी हमला भएको छ।
सोमबार भएको सो हमलामा १९ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । अफगान गृह मन्त्रालयका प्रवक्ता तारिक आर्यानले दिएको जानकारीअनुसार तीनजना बन्दुकधारी विश्वविद्यालय परिसरमा देखापरेका थिए । उनीहरुलाई देख्नासाथ विद्यार्थीहरु भागेका थिए । सोही बेला बन्दुकधारीहरुले विद्यार्थीको भीडतर्फ गोली चलाएका थिए। विश्वविद्यालय परिरमा इरानी पुस्तक महोत्सव उद्घाटन हुँदै थियो । गोली चलेलगत्तै सुरक्षाकर्मीहरुले क्याम्पसलाई घेरा हाली बन्दुकधारीहरुको प्रतिवाद गरेका जनाइएको छ ।
सो कारबाहीमा तीनैजना बन्दुकधारी मारिएका छन् । त्यहाँ संघर्षरत तालिबानले यो हमलामा आफ्नो संलग्नता नभएको दावी गर्दै घटनाको निन्दा गरेको छ । पछिल्ला वर्षहरुमा आफूलाई इस्लामिक स्टेट बताउने आतंकवादी संगठनले अफगानिस्तानका शिक्षण संस्थाहरुमा यस्ताखाले हमला गर्ने गरेका छन् । गत महिना काबुलस्थित एक ट्युशन सेन्टरमा भएको हमलामा २४ जना मारिएका थिए ।-एजेन्सी