इटहरीः पूर्वी नेपालका पर्यटन व्यवसायीहरु लामो लकडाउनका कारण शिथिल बनेको व्यवसायलाई पुनर्जीवन दिन एक भएका छन् ।

उनीहरुले इलामको जैविक विविधताको प्रवद्र्धनका साथै पदयात्रीहरुलाई आकर्षित गरी अर्थोपार्जन गर्ने लक्ष्य अनुसार इलामको पाटेनागी, पाँचथरको लोहाकिल क्षेत्रमा पदयात्राका लागि पर्यटक तान्ने भएका छन् । इलाम, पाँचथर र झापाका पर्यटन व्यवसायीले सुरु गरेको पर्यटन प्रवद्र्धन अभियानको नारा लकडाउनपछि नयाँ गन्तव्य रहेको छ । उनीहरुले पाँचथरको पौवाभञ्ज्याङ हुँदै सुकेपोखरी, लोहाकिल, इलामको कुइभीर, पाटेनागी र बाघखोरसम्मको पैदल यात्रा गरी कञ्चनजंगा हिमाल तथा अन्य हिम श्रृङ्खलाको अवलोकन गरेपछि पदमार्गका रुपमा विकास गर्ने लक्ष्य लिएका हुन् ।

यी क्षेत्रहरु वनस्पति र वन्यजन्तुका कृडास्थलका रुपमा परिचित छन् । तीन हजार मिटरको उचाइमा पहाडको यात्राका साथै गोठस्टेको समेत आनन्द लिन सकिने यो पदमार्गको यात्रा रोमाञ्चक रहने उनीहरुको अनुभव छ । इलाम नगरपालिकाले गत वर्ष पाँच लाख रुपैयाँको लागतमा गन्तव्य खोजी गरेपनि पहिचान गर्न नसकेकोमा व्यवसायीले व्यक्तिगत रुपमै पदमार्ग सञ्चालनको योजना बनाएका हुन् । पदमार्ग सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणमा लगानी गर्न सके दीर्घकालसम्म फाइदा लिन सकिने देखिन्छ ।