इटहरीः लकडाउनका कारण ओरालो लागेको उदयपुरको पर्यटन व्यवसायले गति लिन थालेको छ ।
जिल्लाको ऐतिहासिक महत्व बोकेको धार्मिक रौतापोखरी, देशकै घुम्नलायक सय गन्तव्यमध्ये एक उदयपुरगढी दरबार, लिम्चुङबुङको ‘एभरेष्ट भ्यु टप’ चौण्दढीगढी दरबार, ताप्ली पोखरी, अधेँरी झरना, बेतेनी भंज्याङजस्ता क्षेत्रमा पयृटकको उपस्थिति बढेपछि व्यवसायमा वृद्धि भएको हो । पर्यटक पुग्न नसकेर सुनसान बनेका गन्तव्य अहिले भरिभराउ हुन थालेका छन् ।
चाडपर्वका बेलामा घुमफिर गर्ने संस्कृतिको विकासका कारण पर्यटकको संख्यामा वृद्धि भएको हो ।विश्वको सर्वोच शिखर सगरमाथा लगायत ८ वटा हिमाल आँखै अगाडिबाट नियाल्न सकिने लिम्चुङबुङको ‘एभरेष्ट भ्यु टप’ का साथै मगर ‘होमस्ट’ घुम्नको लागि ईलाम, मोरङ, झापा, सुनसरी, सिराहा, सप्तरीका साथै जिल्लाका विभिन्न स्थानबाट आन्तरिक पर्यटकहरु उल्लेखनीय मात्रामा आएका लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले बताए ।उनी भन्छन्, ‘कोरोनाको महामारीबीच पनि आन्तरिक पर्यटकहरु ‘एभरेष्ट भ्यु टप’ घुम्न आउनेको बाक्लो संख्या रहेको छ।’