फुङ्लिङः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्तरोन्नतिको काम भइरहेको ताप्लेजुङ सुकेटार विमानस्थलको शुक्रबार अवलोकन गरेका छन् ।

सुकेटार विमानस्थलको प्रगतिको अवलोकन गर्दै पर्यटनमन्त्रीले स्तरोन्नतिको गुणस्तरीयतामा ध्यान दिन आग्रह गरे । प्रदेश नं १ को राजधानी विराटनगर विमानस्थललाई केन्द्र बनाएर प्रदेशका सबै जिल्लाका विमानस्थलमा नियमित उडान गर्ने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्ध निर्देशक राजनकुमार पोखरेलले बताए ।

अहिले ५५ वटा पहाडी क्षेत्रमा विमानस्थल निर्माण भइरहेको र ३२ विमानस्थल कालोपत्रे भइसकेको उनले जानकारी दिए । ताप्लेजुङ सुकेटार विमानस्थलको सात सय मिटर क्षेत्रमा स्तरोन्नति भइरहेको र थप एक सय ५० मिटरमा धावनमार्गमा कालोपत्रे गर्न बाँकी रहेको जनाइएको छ । कालोपत्रे गर्ने कार्यमा तापक्रम मिलाउनुपर्ने भएकाले आगामी चैत मसान्तसम्म काम सम्पन्न गर्ने कार्ययोजना तयार भएको जनाइएको छ ।

आर्थिक वर्ष २०७६ । ७७ मा सुकेटार विमानस्थल स्तरवृद्धिका लागि रु। १६ करोड बजेट विनियोजन भएको थियो । फुङ्लिङ नगरपालिका वडा नं ६ मा पर्ने सो विमानस्थल स्तरवृद्धिका लागि बोलपत्र आह्वान गर्दा कृष्ण–बङ्गलामुखी जेभी कन्स्ट्रक्सनले रु। आठ करोड ९९ लाख ५० हजार तीन सय ४९ मा ठेक्का पारेको थियो । आयोजनाका प्रमुख इञ्जिनीयर हरि अधिकारीका अनुसार अघिल्लो वर्षको असोजदेखि विमानस्थल स्तरवृद्धिको कार्य सुरु भएको हो । -रासस