इटहरीः विश्वभर बढ्दो क्रममा रहेको कोरोना भाइरस संक्रमितको संख्या एकै दिन चार लाख ९६ हजार पाँच सय १० जना थपिएपछि आइतबार बिहानसम्ममा पाँच करोड नाघेको छ ।

हाल विश्वमा पाँच करोड एक लाख ४५ हजार सात सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विश्वमा दैनिक करिब चार लाख ५० हजारको संख्यामा संक्रमित वृद्धि भइरहेका छन् । पछिल्लो २४ घण्टामा सात हजार तीन सय २४ जना संक्रमितले ज्यान गुमाएसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या हालसम्म १२ लाख ५५ हजार पाँच सय १५ पुगेको छ । हालसम्म विश्वभर तीन करोड ५५ लाख २४ हजार दुई सय ६२ जना संक्रमित निको भएका छन् । हाल विश्वभर एक करोड ३३ लाख ६५ हजार नौ सय ९४ जना संक्रमितको उपचार जारी छ । जसमध्ये ९१ हजार पाँच सय पाँच जनामा गम्भीर लक्षण देखिएको छ ।

संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँ हालसम्म एक करोड एक लाख ७३ हजार दुई सय ७५ जना संक्रमितको पहिचान भएको छ । पछिल्लो २४ घण्टामा मात्र अमेरिकामा एक लाख १४ हजार छ सय ८९ जनामा संक्रमण देखिएको छ । एकैदिन एक हजार एक जनाको ज्यान गएसँगै अमेरिकामा ज्यान गुमाउने संक्रमितको कुल संख्या हालसम्म दुई लाख ४३ हजार दुई सय २७ पुगेको छ । त्यहाँ निको हुने संक्रमितको कुल संख्या हालसम्म ६४ लाख ३५ हजार सात सय १७ रहेको छ भने ३४ लाख ९४ हजार तीन सय ३१ जनाको उपचार जारी छ । सोमध्ये १८ हजार तीन सय ३५ जनामा गम्भीर लक्षण देखिएको छ ।

यसैगरी, छिमेकी मुलुक भारतमा एकै दिन ४६ हजार तीन सय १८ नयाँ संक्रमित थपिएपछि कोरोना संक्रमितको कुल संख्या ८५ लाख सात हजार दुई सय तीन पुगेको छ । पछिल्लो २४ घण्टामापाँच सय ५७ जना संक्रमितले ज्यान गुमाएको भारतमा हालसम्म एक लाख २६ हजार एक सय ६२ जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन् । भारतमा निको हुने संक्रमितको संख्या ७८ लाख ६७ हजार दुई सय ९१ जना रहेको छ भने पाँच लाख १३ हजार सात सय ५० जनाको उपचार जारी छ । सोमध्ये आठ हजार नौ सय ४४ जनामा गम्भीर लक्षण देखिएको छ ।

यसैगरी, ब्राजिलमा संक्रमितको कुल संख्या हालसम्म ५६ लाख ५३ हजार पाँच सय ६१ जना रहेकोे छ । त्यहाँ हालसम्म संक्रमणका कारण एक लाख ६२ हजार दुई सय ८६ जनाले ज्यान गुमाएका छन् भने निको हुने संक्रमितको संख्या ५० लाख ६४ हजार तीन सय ४४ रहेको छ । हाल ब्राजिलमा चार लाख २६ हजार नौ सय ३१ जना संक्रमितको उपचार जारी छ । जसमध्ये आठ हजार तीन सय १८ जनामा गम्भीर लक्षण देखिएको छ । -एजेन्सी