वासिङ्टनः अमेरिकी राष्ट्रपतिमा डेमोक्रेट उम्मेदवार जो बाइडन विजयी भएका छन् ।
यो विजयसँगै उनी अमेरिकाको ४६ औं राष्ट्रपति बन्न सफल भएका छन् । बाइडेन राष्ट्रपति र कमला ह्यारिस उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । ह्यारिस अमेरिकी इतिहासमा उपराष्ट्रपति हुने पहिलो महिला हुन् । ह्यारिसले अर्को एक इतिहास बनाएकी छन् । उनी अमेरिकाको इतिहासमा पहिलो अस्वेत र भारतीय मूलकी महिला उपराष्ट्रपति हुन् । आगामी जनावरी २० तारिखमा ह्वाइट हाउसमा आयोजना हुने विशेष कार्यक्रममा बाइडेनले आधिकारिक रुपमा राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन् । वाराक ओबामाको कार्यकालमा उनी उपराष्ट्रपति थिए ।
निर्वाचन आयोगले औपचारिक घोषणा गर्न बाँकी भए पनि मत गणनाको पछिल्लो रिपोर्टहरुमा बाइडेनले विजय प्राप्त गरेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । वर्तमान राष्ट्रपति एवं रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पलाई हराउँदै उनले राष्ट्रपति भवन ह्वाइट हाउसको यात्रा सुनिश्चित गरेका हुन् । अघिल्ला निर्वाचनमा रिपब्लिकनले जितेका राज्यमा बाइडनले यस पटक मजबुत पकड बनाउँदै परिणाम आफ्नो पक्ष्मा पारेका हुन् । फक्स न्यूजका अनुसार बाइडनको पक्षमा २९० इलोक्टोरल मत पुगिसकेको छ । जबकी ट्रम्पका पक्षमा २१४ मत मात्र रहेको छ ।
बाइडनको जीतको घोषणा भइरहँदा त्यही पराजय भोगेका वर्तमान राष्ट्रपति ट्रम्पले भने कानूनी संघर्षमा जाने बताएका छन् । अघिल्लो निर्वाचनमा ट्रम्पले विजय प्राप्त गरेका एरिजोना, जर्जिया, पेन्सिलभानिया, विस्कन्सिन, मिचिगन जस्ता महत्वपूर्ण राज्यको इलेक्टोरल मत आफ्नो पोल्टामा पार्दै बाइडनले राष्ट्रपति कार्यालय ह्वाइट हाउसको यात्रा निश्चित गरेका हुन् । अमेरिकी निवौचन प्रणालीअनुसार राष्ट्रपतिमा निर्वाचित हुन ५३८ मध्ये २७० इलेक्टोरल मत आवश्यक पर्दछ । -एजेन्सी