इटहरीः विश्वमा हालसम्म ४४ देशमा रहेका नेपाली नागरिक कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
पछिल्लो समय संक्रमणको दोस्रो लहरबाट अष्ट्रिया र चेक रिपब्लिकमा कार्यरत एक एक जना नेपाली संक्रमित भएको गैरआवासीय नेपाली संघले जनाएको छ । संघको स्वास्थ्य समितिले यो साता विदेशमा रहेका थप ५ सय ४४ जना नेपालीमा संक्रमण देखिएको बताएको छ ।
निको हुने नेपाली संक्रमितको संख्या १ हजार १ सय ६३ जना रहेको समितिको भनाइ छ । हालसम्म ४४ देशका ४४ हजार १ सय १३ जना नेपाली संक्रमित भई ४० हजार ७ सय २८ जना उपचारपछि निको भएको समितिका संयोजक डा.सञ्जिव कोइरालाले बताए । यो साता स्पेन, नेदरल्याण्ड, चेक रिपव्लिक, डेनमार्क, अष्ट्रियामा रहेका थप केही नेपाली संक्रमित भएको उनले उल्लेख गरे ।
यसैसाता साउदी अरबमा एक जना नेपालीले संक्रमणका कारण ज्यान गुमाएपछि विदेशमा ज्यान गुमाउने नेपाली संक्रमितको कुल संख्या दुई सय ८५ पुगेको संघको तथ्याङ्क छ । विश्वका १८ देशमा नेपाली संक्रमितले ज्यान गुमाएको तथ्याङ्कले देखाउँछ । यता, नेपालमा पनि संक्रमण बढिरहेको छ । नेपालमा हालसम्म १ लाख ९१ हजार ६ सय ३६ जना संक्रमितको पहिचान भएको छ । जसमध्ये १ लाख ५५ हजार १ सय १४ जना उपचारपछि निको भएका छन् भने १ हजार ८७ संक्रमितको मृत्यु भएको छ ।