इटहरीःओखलढुङ्गामा रहेका सार्की समुदायले आयआर्जनको मुख्य स्रोतका रुपमा अपनाएको मादल व्यवसायमा कोरोना महामारीका कारण गिरावट आएको छ ।
महामारीले मानिसको आवागमन नियन्त्रित हुनुका साथै क्रयशक्ति ह्रास हुँदा मादलको बिक्री र मर्मतको काम चल्न नसकेको हो । व्यवसाय संकटमा परेपछि यहाँका स्थानीयलाई जीवन निर्वाह गर्न कठिन हुन थालेको छ । विगतका वर्षहरुमा हरेक घरमा मादलको उत्पादन तथा मर्मतबाट तिहारको समयमा मनग्य आम्दानी हुने गरेकोमा यस वर्ष सो हुन नसकेपछि स्थानीयलाई ऋण तिर्न पनि हम्मेहम्मे पर्ने भएको छ ।
ओखलढुंगाका ठूलाछाप, विलन्दु, भदौरे, ज्यामिरे, लामीडाँडा, मानेभञ्ज्याङलगायतका ठाउँमा उत्पादन हुने मादलको बिक्री तथा मर्मतबाट हरेक परिवारले ५० हजारभन्दा बढी आम्दानी गर्दै आएका थिए । देउसी भैलोजस्ता साँस्कृतिक कार्यक्रमका कारण मादलको माग बढ्ने गरेकोमा यस वर्ष कोरोना नियन्त्रणका लागि सरकारले सो को आयोजनामा प्रतिबन्ध लगाएपछि मादलको मागमा गिरावट आएको हो ।