इटहरीः देशभरका किराँत धर्मावलम्बीहरुले आज मंगलबार किराँत धर्मका प्रचारक महागुरु फाल्गुनन्दको जन्मजयन्ति भव्यताका साथ मनाउँदै छन् ।

२०६६ साल मंसिर १६ गते सरकारद्वारा राष्ट्रिय विभूतिका रुपामा घोषित गरिएका फाल्गुनन्दको जन्म बाबु जगुनबाज लिङदेन र आमा हंसमति बेघा लिङदेनका साइँला छोराको रुपमा १९४२ साल कात्तिक २५ गते इलामको माङसेबुङ गाउँपालिका– २ (साविक इभाङ–५ चुक्चिनाम्बा) मा भएको हो । फाल्गुनन्दले समाजको चेतनास्तर अभिवृद्धि गर्नुका साथै वैज्ञानिक आर्थिक नीतिका माध्यमबाट जनजीवनलाई सरलीकृत गरेकाले उनलाई सामाजिक उन्नयनको मार्गदर्शकका रुपमा सम्मान गरिन्छ ।

किराँत धर्मावलम्बीको मुन्धुमलाई उनले लिखित रुपमा ल्याउन सुरुआत गरेका थिए । किराँती वाङ्मयका क्षेत्रमा उनले गरेको अतुलनीय योगदानका साथै उनको धर्मप्रतिको अगाध आस्था र भक्तिभावका कारण उनलाई किराँती समाजले महागुरुको उपमा दिएका हुन् । यसैबीच, फाल्गुनन्द जयन्तिका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्द जयन्तिले सबैलाई समाज सुधारको अभियानमा लाग्ने प्रेरणा प्रदान गरोस् भनी देशवासीका नाममा शुभकामना सन्देश जारी गरेकी छन् । राष्ट्रपतिको सन्देशमा समाजमा रहेका विकृति र विसंगति हटाउँदै प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्न सबैमा प्रेरणा मिलोस् भनी उल्लेख छ । यसका साथै प्रदेश १ सरकारले फाल्गुनन्द जयन्तिकै अवसरमा राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक विदासमेत दिएको छ । लिङ्देनको २००५ सालमा देहावसान भएको थियो ।