इटहरीः इलाम र पाँचथरको सीमामा पर्ने सुकेपोखरीले पर्यटकलाई लोभ्याउन थालेको छ । चाडपर्वका अवसरमा घुमफिर गर्न मन पराउने पर्यटक होम स्टे र ट्रेकिङका लागि यस क्षेत्रमा आउन थालेका छन् ।
यहाँको ग्रामिण वातावरण र मौीलक परिकारले पर्यटकलाई मोहनी लगाउने गरेको छ । यहाँ आएका पर्यटकहरुका लागि यहाँका स्थानीयले लोकल कुखुुरा, खसी, बोकाको मासुदेखि सेल रोटी, स्थानीय कोदोको ढिडो, आलु, मुला, गाजर, मकै भटमास, केराउलगायतबाट तयार हुने परिकार पस्कने गरेका छन् । होम स्टे सञ्चालनमा आएपछि यहाँको ग्रामिण परिवेशमा रमाउन चाहनेहरुमाझ यो ठाउँले अमिट छाप छोड्न सफल भएको छ । स्वदेशी तथा विदेशी पर्यटकहरु यहाँको मनमोहक वातावरणमा स्वछन्द विचरणका लागि आउने गर्दछन् । यहाँका होम स्टेहरुले पर्यटकलाई पारिवारिक वातावरण सहितको सस्तो र गुणस्तरीय बसाइ प्रदान गर्दै आएको छ । होम स्टे सञ्चालक सन्देश राईका अनुसार पारिवारिक वातावरणका कारण कम सुविधाका बाबजुद यहाँका होम स्टेमा पर्यटकहरु उल्लेख्य संख्यामा आउने गरेका छन् । फुर्सदको समयमा होस् वा चाडबाडको मौसममा घुम्न निस्किनेहरूको रोजाइमा लामो दूरीको ट्रेकिङ र होमस्टे पर्ने गर्दछ । चिसो मौसम र स्थानीय परिकारको स्वादले पर्यटकहरुमा रोमाञ्चकताको अभूतपूर्व सञ्चार हुने गरेको छ ।
बिहान सबेरै सुकेपोखरीबाट ट्रेकिङमा निस्कने पर्यटकहरुल लेकाली क्षेत्रमा पाउने जडिबुटी, विभिन्न खालका वनस्पतीको अवलोकन गर्दै चार घण्टामा इलाम नगरपालिका– १ को बागखोरसम्मको यात्रा तय गर्न सक्छन् । इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजार हुँदै पाँचथरको पौवा भञ्ज्याङसम्म कालोपत्रे सडकको यात्रापछि थप पाँच किलोमिटर कच्ची सडकको यात्रा तय गरी सुकेपोखरी पुग्न सकिन्छ । आन्तरिक तथा बाह््य पर्यटकलाई ट्रेकिङका लागि आकर्षित गर्न सरकारले यस क्षेत्रमा पूर्वाधार विकासमा लगानी गरे दीगो आम्दानी लिन सकिने देखिन्छ ।