इटहरीः पाँच जना पर्वतारोही सम्मिलित पर्वतारोहण टोलीले सोलुखुम्बुमा रहेको आमादब्लम हिमालको आरोहण सफलतापूर्वक सम्पन्न गरेको छ ।
हिमालय गाइड्स नेपालको व्यवस्थापनमा गएका पर्वतारोहीहरुले कोरोना महामारीकै बीच आरोहणमा सफलता प्राप्त गरको हो । आरोहीहरु ६ हजार ८ सय १२ मिटर अग्लो आमादब्लम हिमालको शिखर चुम्न सफल भएका हुन् । महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्रलाई उर्जा प्रदान गर्दै पुनर्जीवित तुल्याउन हिमाल आरोहणमा सहभागी भएको आमादब्लम युवा क्लब पाङबोचेका अध्यक्ष कुङ्गाग्याजु शेर्पाले बताए ।
विश्व शान्तिको कामनाका साथ आरोहण सम्पन्न गरेको उनको भनाइ छ । सन् १९६१ मा पहिलो पटक ब्यारी बिसप, माइक गिल, व्याली रोमानीज र माइक वार्ड सम्मिलित पर्वतारोहण टोलीले आमादब्लमको शिखरमा पाइला टेकेको थियो ।