इटहरीः मोरङको विराटनगरमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरी छठ पर्व मनाउन रोक लगाउन लागेको भनी छठ आयोजक समितिको आरोपका बीच प्रशासनले चाडपर्व मनाउन कुनै रोक नलगाएको प्रष्ट पारेको छ ।
छठ आयोजक समितिहरुले गत असोज २३ गते पत्रकार सम्मेलनमार्फत् जिल्ला प्रशासन कार्यालयले धार्मिक स्वतन्त्रतामाथि हस्तक्षेप गर्दै चाडपर्व मनाउने कार्यमा अवरोध गर्न खोजेको भन्दै को निषेधाज्ञा अवज्ञा गरेर भएपनि छठ मनाउने बताएपछि प्रशासनले संयमित भएर चाडपर्व मनाउनेलाई कुनै रोक नलगाइने बताएको हो । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले चाडपर्व मनाउन रोकेको नभई भिडभाड नगर्न अनुरोध गरिएको बताए ।
उनले भने,‘घाटमा जग्गा भाडामा लगाउनेहरुले हल्लाखल्ला गरेको हो,चाडपर्वमा समूहमा भेला नहुन अनुरोधमात्र गरेका हौं ।’ कोभिड संक्रमण दर व्यापक भएकाले जमघट नगर्न अनुरोध गरिएको उनको भनाइ छ । सुरक्षित भएर स्वास्थ्य सावधानीका साथ दीपावली तथा छठ पर्व मनाउन उनले आग्रह गरे । विराटनगर महानगरपालिकामा छठ पर्वका बेला हुने भिडलाई व्यवस्थित गर्नका लागि महानगरपालिका पनि छलफलमा जुटेको महानगरपालिकाका प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलले बताए । महानगरपालिकाको एक्लो प्रयास पर्याप्त नहुने भन्दै उनले जिल्ला प्रशासन कार्यालयले नागरिकको हितमा सही निर्णय गरेको बताए ।
नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले बजारमा राजनीतिक दलका कार्यक्रमहरु निर्वाध रुपमा चल्न दिएको प्रशासनले कोभिड महामारीका नाममा धार्मिक आस्था प्रकट गर्ने अभ्यासमा रोक लगाउन नहुने बताए । प्रशासनले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो ।