इटहरीः यमपञ्कको दोस्रो दिन आज कुकुर तिहार । घरमा पालिएका कुकुरलाई मिठो खानेकुरा दिँदै विधिपूर्वक पूजासमेत गरी मनाइँदै छ ।
यस दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक वर्षको कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ । यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ । कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवं गुनिलो जनावर पनि हो । यो जनावरले सुँघेर अपराधी पत्ता लगाउने गर्छ । कुकुरलाई भैरवको वाहन पनि भनिन्छ ।
सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ । नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा। डा। रामचन्द्र गौतमका अुनुसार आजै बिहान नदी, तलाउ वा धारामा गई स्नान गरेर सालका पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने गरिन्छ । यसरी नरक बगाएमा नरक जान नपर्ने शास्त्रीय मान्यता छ । यसैबीच, तिथीको घटबढका कारण आजै देशैभर दीपावलीका साथ धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरिँदैछ ।
लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अरु चल अचल सम्पत्ति बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने जनविश्वास छ । लक्ष्मी पूजापछि आज रातभर पूजाकोठा, घर आगन र टोलमा वत्ति बाल्ने गरिन्छ । सुखरात्रीको रुपमा चिनिने आजराति जुन घर उज्यालोले झकिझकाउ छ सोही घरमा लक्ष्मी प्रवेश गर्ने मान्यता रहेको छ ।सन्ध्याकालमा लक्ष्मीपूजा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस्, लक्ष्मी र धनधान्यको आगमन होस्,’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको गौतमले जानकारी दिए ।