इटहरीः यमपञ्चक अर्थात् तिहारको आज चौथो दिन । आज गाई तथा गोरुलाई पुजाआज गरेर मनाउने वैदिक परम्परा रहेको छ ।
आजकै दिन नेवार समुदायले गोवद्र्धन पर्व पनि मनाउँदै छन् । मोरङको सुन्दरहरैँचामा रहेको नयाँ वृन्दावन गौशालामा आज सामूहिक गाई पुजा गरिएको छ । १२ वर्ष अगाडिदेखि गौशालामा सामूहिक रुपमा गाई तथा गोरुको पुजाआज गर्दै आइएको हो । विगतका वर्षहरुमा सयौँको संख्यामा श्रद्धालुहरु भेला भएर हुने पूजा यस वर्ष भने कोरोना महामारीले प्रभावित भएको छ । कोरोना महामारीका कारण यस वर्ष धुमधामका साथ गोवद्र्धन पूजा गर्न नसकिएको दिनबन्धु पोखरेलले जनाकारी दिए ।
‘हामी विगतका वर्षमा एक सय भन्दा बढि श्रद्धालुहरुको साथमा गाई पूजा गथ्र्यौँ । १२ वर्ष अगाडिबाट हामीले यहाँ सामूहिक पूजा गर्दै आएका छौँ । त्यहि परम्परालाई बचाइराख्न हामीले यो वर्ष सिमित मानिसहरुको सहभागितामा पूजा गरेका छौँ’, उनले भने । गाई तथा गोरु पूजाको इतिहासबारे जानकारी गराउँदै पोखरेलले श्री कृष्णको पालाबाट यो पर्व मनाउन सुरु गरिएको बताए । ‘श्री कृष्ण गाईको प्रीय । उहाँले नै कामधेनु गाईलाई आजकै दिनबाट पूज्न सुरु गरेको धर्म ग्रन्थहरुमा उल्लेख गरिएको छ । साथै आजकै दिन माता यसोधाले श्री कृष्णलाई गाई चराउन जाने अनुमति दिएको पौराणिक ग्रन्थहरुमा उल्लेख छ ।
आज भन्दा ५२ सय वर्षअगाडि गाईलाई पूजा गरेर भगवान श्री कृष्णलाई चराउन अनुमति दिएको थियो’, उनले भने । साथै उनले आजको दिन हिन्दु धर्मावलम्बिहरुका लागि विशेष रहेको पनि जानकारी दिए । विगतका वर्षहरुमा यहाँ इटहरी, सुन्दरहरैँचा र अन्य ठाउँबाट सयौँको संख्यामा श्रद्धालु आउने गरेका थिए । गौशालामा गाईको पुजा गर्न आएका एकजना स्थानीयले पछिल्लो समय घरघरमा गाई पाल्ने चलन हराएकोले गौशालामा गाईपाल्न थालिएको बताए ।
‘हामीले व्यक्तिगत रुपमा गाई पाल्न नसकेर यो गौशालामा सामूहिक रुपमा गाई पाल्दै आएका हौँ । हामी झण्डै एक सय ५० जनाको उपस्थितिमा गाईको पूजा गथ्र्यौँ तर यो वर्ष कोरोना महामारीका कारण समितिका सदस्य मात्र भेला भएर पूजा गरेका छौँ’, उनले भने । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई ’माता’ कै रूपमा सम्मान गरिन्छ ।