इटहरीः कोरोना भाइरस संक्रमणको नयाँ लहर बढ्दै गएपछि युरोपेली देशहरुले रोकथाम र नियन्त्रणका लागि थप कडाइ गर्न थालेका छन् । युरोपका आधा दर्जन मुलुक अहिले पूर्ण लकडाउनको अवस्थामा छन् ।

अष्ट्रियाले पनि यही मंगलबारदेखि डिसेम्बर ६ सम्मका लागि देशभर पूर्ण लकडाउन घोषणा गरेको छ । कडा लकडाउनको पालना गरिरहेका युरोपेली देशका नागरिकहरु डिसेम्बरको अन्त्यसम्ममा महामारीको तिव्रतामा कमी आई स्वतन्त्रतापूर्वक क्रिस्टमस पर्व मनाउन पाउने आशामा छन् । नयाँ लकडाउन घोषणा गर्दै अष्ट्रियाका चान्सलर सेबास्टियन कुर्जले घर परिवारबाहिरका कसैसँग पनि नभेट्न आफ्ना नागरिकलाई आग्रह गरेका छन् ।

अष्ट्रियामा गत शुक्रबार अहलेसम्मकै उच्च दैनिक संक्रमितको संख्या ९ हजार ५ सय ८६ पुगेको थियो । अष्ट्रियामा हालसम्म १ सय ९१ हजारभन्दा बढीलाई कोरोना संक्रमण भइसकेको छ । संक्रमणकै कारण १६ सय ६१ जनाको ज्यान गइसकेको छ । -एजेन्सी