वासिंटनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान र इराकमा रहेका थप सैनिक फिर्ता बोलाउने तयारी गरेका छन् ।

राष्ट्रपति ट्रम्पले आगामी दुई महिनापछि आफ्ना सैनिक फिर्ता बोलाउन सैन्य अधिकारीलाई आदेश दिने तयारी गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । रक्षा मन्त्रालयका अनुसार राष्ट्रपति ट्रम्पले अफगानिस्तानमा रहेका बाँकी सैनिक मध्येबाट केहीलाई फिर्ता ल्याउने तयारी गरेका छन् । हाल अफगानिस्तानमा पाँच हजार अमेरिकी सैनिक परिचालित रहेकोमा नयाँ वर्ष २०२१ को पहिलो महिनाभित्र आधा सैनिक कटौति गर्ने ट्रम्पको योजना छ ।

साथै इराकमा रहेका तीन हजार अमेरिकी सैनिकमध्ये पाँच सयलाई फिर्ता बोलाउने ट्रम्पको तयारी छ । क्रिसमस पर्व नजिकिएसँगै सबै सैनिक फिर्ता गर्ने बताएका ट्रम्पले आफ्नो नीति परिवर्तन गरेका हुन् । सैनिक फिर्ता गर्ने प्रकृया नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ ग्रहणअगावै सम्पन्न गर्ने तयारीमा ट्रम्प प्रशासन लागिपरेको सञ्चारमाध्यमहरुले बताएका छन् । सन् २००३ मा अमेरिकाकै नेतृत्वमा रहेको सेनाले राष्ट्रपति सद्दाम हुसेनलाई इराकको बागडोर खोसेको थियो ।

अफगानिस्तानमा सन् २००१ देखि निरन्तर परिचालित रहँदै आएको अमेरिकी सेनाले युद्धरत तालिवानी लडाकुसँग शान्ति सम्झौता गरी युद्ध अन्त्य गराएकोमा सोही सम्झौता बमोजिम इराकमा रहेका सैनिकको संख्या कटौति गरेको हो । -एजेन्सी