महोत्तरीः दीपावली पर्वपछि लोकआस्थाको पर्व छठको तयारी सुरु भएको छ ।

कात्तिक शुक्ल द्वितीयाका दिन ‘भरद्वितीया’ (भैयादुज, भ्रातृद्वितीया पनि भनिने भाइटीका) पर्वसँगै दीपावली (यमपञ्चक) सम्पन्न भएपछि मैथिल (मिथिलाका बासिन्दा) अब श्रद्धा र निष्ठापूर्वक मनाइने छठको तयारीमा लागेको हो । कात्तिक शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ सम्पन्न गरिने छठपर्व यसपाली भोली बुधबार सुरु हुँदैछ । सूर्यदेवको उपासना गरिने यो पर्वमा पहिलो अर्थात् चौथी तिथिका दिन व्रतालुुले हातगोडाका नङ काटेर पवित्र स्नान गर्दै चोखोनितो खाएर व्रत सङ्कल्प गर्दछन् । यसलाई मिथिलामा ‘नहाय–खाय’ भनिन्छ ।

त्यसैगरी दोस्रो दिन पञ्चमी तिथिका दिन व्रतालुले दिनभरि निराहार व्रत उपासना गरेर राति सक्खर हालेर पकाइएको अरवा चामलको खिरमात्र इष्टदेवलाई चढाएर परिवारजनसहित प्रसादस्वरुप खाने गर्छन् । दोस्रो दिनको यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । पर्वको मुख्य दिन षष्टी (षष्ठी) तिथिका दिन बर्तालुले निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा बनाइएको घाटमा स्नान गर्दै सूर्यदेवलाई अघ्र्य दिन्छन् । यसक्रममा ठकुवा, भुसुवा (कसार), अन्य मिष्ठान्न परिकार, केरा, दहीसहितका सामग्री सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ भनिन्छ । षष्ठीको रात सूर्यदेव र षष्ठीमाता (सूर्यदेवकी पत्नी)को आराधना गर्दै घाटमै रात बिताउने चलन छ ।

यद्यपि यसपालि कोभिड–१९ सङ्क्रमणको सन्त्रासले धेरैजसो व्रतालुले घरआँगनमै व्रत विधि सम्पन्न गर्ने तयारी गरेका छन् । पर्वको अन्तिम अर्थात् सप्तमी तिथिका दिन सखारैदेखि पानीमा चोबलिएर सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्दै व्रतालुले गीत गाउँछन् । सूर्य क्षितिजमा देखिनासाथ अघिल्लो साँझ अघ्र्य देखाइएका सामग्री उदाउँदो सूर्यलाई देखाउँदै दोस्रो अघ्र्य दिएपछि पर्व विधिवत रुपमा सम्पन्न गरिन्छ । मिथिलामा अन्तिम दिनको विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ । पर्व सम्पन्न भएसँगै व्रतालुले घर फर्केर (घाट जानेहरु) ब्राह्मण, गरिब, आशामुखीलाई अन्नदान गरी भोजन गर्दछन् । यससँगै छठपर्वको प्रसाद खाने खुवाउने क्रम सुरु हुन्छ ।

मिथिलामा छठको प्रसाद इष्टमित्र, छोरीचेली र आफन्तकहाँ पुर्याउने क्रम १०÷१५ दिनसम्म चलिरहन्छ । पर्व भोलि बुधबार सुरु हुने भएपछि मिथिलाका सबै भेगमा आज बजारु चहलपहल एकाबिहानैदेखि बढेको छ । पर्वमा गुबोसहित उखुको लाँक्रा, ज्यामिर, अदुवाको बोट व्रत विधिमा देखाइने हुँदा यस्ता कृषि उपजले आज राम्रो बजार पाएका छन् । पर्वमा सूर्यदेव र षष्टीदेवीलाई चढाइने मुख्य प्रसाद सामग्री ठकुवा , भुसुवा को पिठो घरमै ढिकी, जाँतो र ओखलमा अत्यन्त पवित्रताका साथ तयार गर्ने चलनले मिथिलाका सबै घरमा अहिले पर्वको चटारो देखिन्छ ।

पर्वमा प्रसाद सामग्री राख्न बाँसका चोयाले बनेका र माटाका शुद्ध नयाँ भाँडाको प्रयोग गरिने परम्पराले यस्ता सामग्रीको जताततै बजार जमेको देखिएको छ । छठपर्वको व्रत गर्नाले मनोवाञ्छित फल पाइने, सन्तान सुख प्राप्त हुने र रोगव्याध नलाग्ने मैथिल जनविश्वास छ । खासमा चर्मरोग सूर्यको उपासनाले निको हुने विश्वास गरिन्छ । पछिल्ला केही दशकयता आपसी घुलमिलले छठपर्व पहाडी मूलका हिन्दूमात्र नभएर भाकलका रूपमा फरक धर्मसंस्कृतिका जाति समुदायले पनि मनाउन थालेपछि यो पर्व मिथिलाको साझा पर्वको रूपमा विकास भएको छ । सबै जाति, धर्म, सम्प्रदाय र व्यक्ति–व्यक्ति परिचालित हुने हुँदा छठपर्व लोकआस्थाको पर्व बनेको मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्र विमल बताए । -रासस