इटहरीः संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थलमा अवस्थित गुफा पोखरी पर्यटकलाई मोहित पार्ने हिम श्रृङ्खलाका दृश्यहरुका लागि पूर्वमा प्रख्यात गन्तव्य हो ।
तर संरक्षणको अभावमा अहिले यो क्षेत्र ओझेलमा पर्दै गएको छ । गुराँसको राजधानी मानिने तीनजुरे मिल्के जलजले अर्थात् टिएमजे क्षेत्रको सानिध्यमा अवस्थित यो पोखरीले प्राकृतिक सौन्दर्यमा श्रीवृद्धि गर्न सफल भएको छ । साथै यसले वातावरणीय सन्तुलनमा समेत टेवा पुर्याएको छ । गुराँसका विभिन्न प्रजातिका फूलहरुको सुगन्धका साथै गुफा पोखरीको शीतलतायुक्त वातावरणले जोकोहीलाई पनि आकर्षित गर्ने गर्दछ ।
तर विडम्बना, पानीका स्रोतको अभावमा अहिले यो पोखरी सुक्न थालेको छ । पोखरीमा पानीको कमीसँगै यस क्षेत्रबाट पर्यटक पनि टाढिन थालेका छन् । विगतमा जस्तो पर्यटकको उपस्थिति नरहेको स्थानीय फुजुङ शेर्पाको अनुभव छ । विगतमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन हुने गरेको उनी स्मरण गर्छन् । उनका अनुसार पोखरीको घट्दो आकारसँगै पर्यटकीय गतिविधि पनि शिथिल बन्दै गएको छ ।
पर्यटकहरुलाई यो क्षेत्रले सुन्दर पहाडी डाँडा तथा हिमश्रृङ्खलाको अवलोकन गर्दै सेल्फीमा रमाउने अवसर जुराउँदै आएको छ । समुन्द्र सतहबाट दुई हजार आठ सय ९० मिटरको उचाइमा अवस्थित गुफा पोखरीलाई पुनर्जीवन दिन सके पर्यटन व्यवसायमा राम्रो फाइदा लिन सकिन्छ । यसका लागि सरोकारवाला सरकारी निकायले प्रभावकारी योजनाका साथ उचित व्यवस्थापकीय सुधार गर्नु आवश्यक छ ।