इटहरीः विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको महामारीका कारण हालसम्म विश्वका पाँच करोड ५९ लाख ३२ हजार मानिस संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा मात्र विश्वभर पाँच लाख ४४ हजार सात सय ८४ जना संक्रमितको पहिचान भएको छ । २४ घण्टाको अवधिमा विश्वका १० हजार ६ सय दुई जना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै हालसम्म विश्वका कुल १३ लाख ४२ हजार नौ सय २८ संक्रमितले ज्यान गुमाएका छन् । संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा हालसम्म एक करोड १६ लाख ९४ हजार जना संक्रमित भएका छन् । संक्रमितमध्ये दुई लाख ५४ हजार जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घन्टामा मात्र अमेरिकामा एक लाख ५५ हजार जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा एक हजार ६ सय संक्रमितले ज्यान गुमाएका छन् ।
यसैगरी, संक्रमणको प्रभावका आधारमा दोस्रो स्थानमा रहेको भारतमा हालसम्म ८९ लाख १२ हजार सात सय चार जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये मृतकको संख्या एक लाख ३१ हजार रहेको विश्वका कोरोना संक्रमितको अभिलेख राख्ने वेबसाइट वल्र्डोमिटरले जनाएको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्र ३८ हजार संक्रमितको पहिचान भएको छ । पछिल्लो २४ घन्टाको अवधिमा पहिचान भएका नयाँ संक्रमितको संख्या ब्राजिलमा ३५ हजार, फ्रान्समा १४ हजार, रुसमा २२ हजार, स्पेनमा १३ हजार, बेलायतमा २० हजार र इटालीमा ३२ हजार रहेको वल्र्डोमिटरको तथ्याङ्कले देखाएको छ ।