इटहरीः कोरोना महामारीका कारण देशव्यापी लकडाउन हुँदा शिथिल बन्न पुगेको पर्यटन क्षेत्र पुन चलायमान हुने भएको छ ।

देशभरका सबै पर्यटकीय गन्तव्यमा स्वास्थ्य सावधानी अपनाएर गरिने पर्यटकीय गतिविधिमा रोक नलगाउने  स्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको निर्णयसँगै पर्यटन व्यवसायमा वृद्धि हुने आशा पलाएको छ । मन्त्रिपरिषद्को बैठकबाट गत कात्तिक २४ पर्यटकीय गतिविधि खुलाउने गरी भएको निर्णय अनुसार मन्त्रालयले केबलकार, जंगल सफारी र संग्रहालयजस्ता क्षेत्र खोल्ने अनुमति दिएको हो ।

यद्यपी, जिल्ला प्रशासन कार्यालयले जोखिमपूर्ण स्थानमा रहेका पर्यटकीयस्थलमा हुने गतिविधिमा भने रोक लगाउन सक्ने छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा स्वास्थ्य मापदण्ड पालनाको अवस्थाबारे मन्त्रालय आफैँले अनुगमन गर्ने उल्लेख छ । यसैबीच, सरकारले पर्यटकीय गतिविधि सञ्चालनको अनुमति दिएपछि कपिलवस्तुस्थित गौतम बुद्धको जन्मस्थल लुम्बिनीसमेत खुला गरिएको छ ।

स्वास्थ्य मापदण्ड पालना गर्दै मायादेवी मन्दिर परिसरमा रहेका अशोक स्तम्भ, पुष्करिणी पोखरी र बगैचा अवलोकन गर्न दिइए पनि मायादेवी मन्दिरमा भने प्रवेश नदिइने लुम्बिनी विकास कोषले जनाएको छ । कोषका अनुसार मन्दिरभित्र प्रवेश गर्न चाहने पर्यटकको तापक्रम परीक्षण गरी प्रवेशको व्यवस्था मिलाइने भएको छ ।