इटहरीः एउटा विद्यालयको भौतिक तथा शैक्षिक विकासको लागि विद्यार्थी, अभिभावक र शिक्षकको त्रिकोणत्मक सम्बन्धको आवश्यकता पर्छ । विद्यालयमा सबै अभिभावकलाई सबैखाले काममा सहभागी गराउन नसकिने भएको र अभिभावकको प्रतिनिधिमुलक सहभागिताका लागि विद्यालय व्यवस्थापन समिति बनाइन्छ ।
शिक्षा ऐन २०२८ अनुसार सो समितिमा अभिभावकले आफूहरुमध्येबाट छानी पठाएका दुर्ईजना महिला सहित चारजना, सम्बन्धित वडाका जनप्रतिनधि एक जना, विद्यालयका संस्थापक, स्थानीय बुद्धिजिवी, शिक्षाप्रेमी, विद्यालयलाई निरन्तर दश वर्षदेखि सहयोग गर्नेमध्ये एक महिलासहित दुई जना, विद्यालयले छानेको एक जना शिक्षक र विद्यालयका प्रधानाध्यापक सदस्यसचिव रहनुपर्ने व्यवस्था छ । यस्तै सो समितिमा बस्नेको सोही विद्यालयमा आफ्ना बालबालिका अनिवार्य पढेको हुनुपर्ने, समिति गठन गर्नुभन्दा १५ दिन पहिला नै अभिभावकलाई जानकारी गराएर नामावली सार्वजनिक गर्नुपर्ने हुन्छ ।
तर इटहरी उपमहानगरपालिका वाड नम्बर १४ नरभाषामा रहेको श्री पार्वति माध्यमिक विद्यालयले यी सबै प्रक्रिया नै पूरा नगरी विद्यालय व्यवस्थापन समिति बनाउन प्रयास गरेपछि विवाद उत्पन्न भएको छ । साथै सो विद्यालयले सूचना नै ढिलो गरेको छ । मंसिर ३ गते बोलाइएको समितिको बैठकको लागि विद्यालयले कात्तिक २८ गते मात्र पत्राचार गर्यो । विद्यालयको जानकारी सबै अभिभावकसम्म पुग्न पनि पाएन । यहाँका स्थानीयहरुले आफूहरुमध्ये धेरै निरक्षर रहेको र त्यसैको फाइदा उठाएर विद्यालयले झुक्याएको बताएका छन् । साथै आफूहरुलाई पठाएको पत्र र विद्यालयमा मंसिर २ गते टाँसिएको सूचना फरक फरक भएको उनीहरुले जानकारी दिएका छन् ।
सूचना ढिलो भयोः अभिभावक
यहाँका अधिकांश अभिभावकले सूचना नै उपलब्ध नगराएको बताएका छन् । सूचना पाउनेले पनि समिति गठनका लागि बोलाइएको बैठकको दिनको एक दिन अगाडि मात्र जानकारी पाएको बताएका छन् । सोही विद्यालयका २ पटकसम्म अध्यक्ष भइसकेका एक स्थानीयले ३ गतेको बैठकको लागि २ गते मात्र विद्यालयले सुचना टाँस गरेको बताए ।
‘एक त यीनीहरुले सूचना नै ढिलो दिएका छन् । आज हुने विद्यालय व्यवस्थापन समितिको बैठकको लागि हिजो साँझ मात्र सुचना टाँसेको छ । यता अभिभावकलाई भने २८ गतेको पत्र काटेको छ’, उनले भने । साथै उनले यहाँका अधिकांश स्थानीय निरक्षर भएकाले झुक्याएर हस्ताक्षर गर्न लगाएको आरोप लगाए । ‘यहाँका मानिसहरु सबै कृषक छन् । उनीहरु निरक्षर पनि छन् । उनीहले तिमीहरुको छोराछोरी त्यो स्कुलमा पढ्छ हैन ल यहाँ साइन गर्ने भनेर झुक्याएर साइन गराएको छ’, उनले भने । साथै उनले टोल टोलमा गएर विद्यालयका प्रतिनिधिहरुले छलफल नै नगरेका बताएका छन् ।
अर्का स्थानीयले भने आफूहरुलाई पठाएको पत्रमा र सूचनामा फरक फरक कुरा उल्लेख भएको बताएका छन् । ‘हामीलाई पठाएको पत्रमा विद्यालयको विषयमा छलफल गर्न भनेर लेखिएको छ तर यहाँ टाँसेको सुचनामा चाहीँ विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष चुन्ने भनेर लेखेको छ । यो सरासर यहाँका अनपढ जनतालाई झुक्याउने काम भएको छ’, उनले भने । साथै उनले यहाँ आउँदा विद्यालयको व्यवस्थापन समितिको विषयमा छलफल हुने भनेको देख्दा अचम्मित परेको बताए ।
अर्का स्थानीयले भने यहाँ पहिला नै एकजना शिक्षक, प्रधानाध्यापक र वडाध्यक्षलाई समितिमा राखिएको र अहिले दुई जना मात्र चुन्ने उनीहरुको सल्लाह भएको बताए । ‘हामीलाई भनेको कुरा र भित्रको कुरा अलग रहेछ । मैले भित्र गएर बुझ्दा पहिला नै तीन जना समितिमा राखिसकेको रैछ । यहाँको शिक्षक एक जना, हेडमास्टर र वडाध्यक्षलाई समितिमा पहिला नै राखेको रैछ । अहिले दुईजना छाने नगरको शिक्षा शाखामा गएर पूर्ण समिति तयार पार्ने योजना रहेछ’, उनले भने ।
विभिन्न ठाउँबाट आएको सहयोगलाई सहज गर्न समिति बनाउन लागिएको होः प्रधानाध्यापक
यता सो विद्यालयका प्रधानाध्यापक बद्रीप्रसाद चौधरीले भने विभिन्न ठाउँबाट विद्यालयलाई सहयोग आइरहेको जानकारी दिँदै सो सहयोग लिनको लागि समिति चाहिने भएकाले समिति बनाउन आफू लागिपरेको बताए । ‘हाम्रो विद्यालयको विभिन्न कामका लागि विभिन्न ठाउँबाट सहयोग आइरहेको छ । त्यो सहयोग लिनको लागि हामीलाई विद्यालय व्यवस्थापन समिति चाहिन्छ । तर, अहिले हाम्रो विद्यालयको पुरानो समितिको कार्यकाल सकिएको झण्डै एक वर्ष बितिसक्यो । त्यसैले हामीले सहयोग रकम लिएर विद्यालयको विकासको लागि खर्च गर्न समिति बनाउन लागिपरेका हौँ’, उनले भने ।
उनले हाल दुई ओटा संस्थाबाट विद्यालयमा बजेट आएको पनि जानकारी दिए । चौधरीले किन चिठी ढिलो पठाएको भन्ने हाम्रो प्रश्नको जवाफ दिँदै आफूलाई शिक्षा ऐन बारे नै थाहा नभएको प्रतिक्रिया दिए । ‘हामीले तीन दिनअगाडि नै चिठी पठाउन कार्यालय सहयोगीलाई निर्देशन दिएका थियौँ । मैले कतै सुनेको थिएँ कि तीन दिन या सात दिनअगाडि मात्र जानकारी गराएर पनि समिति बनाउन सकिन्छ । यही कुरा मैले वडाध्यक्षलाई पनि जानकारी गराएँ तर उहाँले यो हुँदैन भन्नुभयो । मलाई त यो विषयमा थाहा पनि छैन’, उनले भने ।
'' वैकल्पिक विधिबाट समिति बनाउन निर्देशन दिएका हौँः '' शिक्षा शाखा प्रमुख
इटहरी उपमहानगरपालिका शिक्षा शाखा प्रमुख अम्बिका कुमारी साहले हाल इटहरीका १७ वटा विद्यालयमा कार्यकाल सकिएर विद्यालय व्यवस्थापन खारेज भएको अवस्थामा रहेको बताइन् । उनले पार्वति मा.वि.लाई पनि वैकल्पिक विधिबाट समिति बनाउन सके सबै अभिभावकको सहभागिता सुनिश्चित हुनेगरी समिति बनाउन निर्देशन दिएको जानकारी दिइन् ।