इटहरीः पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख ५९ हजार जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।

यससँगै हालसम्म विश्वभर कुल ५ करोड ७८ लाख ९५ हजार जनामा संक्रमण पुष्टि भइसकेको छ । विश्वभरका संक्रमितमध्ये १३ लाख ७६ हजार जनाको ज्यान गएको विश्वका कोरोना संक्रमितको अभिलेख राख्ने वेबसाइट वल्र्डोमिटरले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्र विश्वभर ज्यान गुमाउने संक्रमितको संख्या ११ हजार ८५ रहेको छ । यसैगरी संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ४ करोड ९७ हजार पुगेको छ ।

संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा २४ घण्टाको अवधिमा दुईलाख एक हजार जनामा संक्रमण देखिएको छ । २४ घण्टाभित्र अमेरिकामा एक हजार नौ सय ५१ संक्रमितको मृत्यु भएको छ । अमेरिकामा हालसम्म १ करोड २२ लाख ७४ हजारभन्दा बढी मानिसमा संक्रमण पुष्टि भइसकेको छ भने हालसम्म दुई लाख ६० हजार संक्रमितले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा भारतमा ४६ हजार जनामा संक्रमण पुष्टि भएको छ । भारत कोरोनाबाट बढी प्रभावित हुने देशको सूचिमा दोस्रो स्थानमा रहेको छ । यसैगरी, ब्राजिलमा २४ घण्टाको अवधिमा पहिचान भएका संक्रमितको संख्या ३७ हजार, फ्रान्समा २२ हजार, इटलीमा ३७ हजार र बेलायतमा २० हजार रहेको छ ।