इटहरीः पूर्वी नेपालको मोरङ जिल्लाको बेलबारी नगरपालिकामा रहेको बेतना सिमसारमा कुनै बेला दैनिक हजारौँको संख्यामा आन्तरिक पर्यटक आउने गर्थे ।

प्राकृतिक ताल, वन्यजन्तु तथा पशुपन्छीका साथै मानवनिर्मित मनमोहक संरचना हेर्नकै लागि आसपासका ठाउँबाट पर्यटक आउने गर्थे । त्यो समयमा यहाँका होटलहरुमा पनि मानिसहरु खचाखच हुन्थे । तर अहिले अवस्था फेरिएको छ । यहाँ न कुनै पर्यटक आएका छन् न त सिमसार नै खुल्ला छ । कोरोना महामारीका कारण थलिएको यहाँको पर्यटन व्यवसाय अहिलेसम्म सुधार हुन सकेको छैन ।

कोरोनाका कारण सरकारले लागु गरेको लकडाउन र निषेधाज्ञा हटे पनि बेतना सिमसार अहिलेसम्म खुलेको छैन । नगरपालिका र सम्बन्धित सरोकारवालासँग बेतना खुलाउने विषयमा छलफल भइरहेको बेतनाका अध्यक्ष डम्बर बस्नतले जानकारी दिए । उनले बेतनामा पर्यटक नआउँदा कर्मचारीको तलबदेखि यहाँ रहेका पशुपन्छीको आहाराको लागि पनि समस्या भएको बताएका छन् । ‘हामीले बेलबारी नगरपालिकासँग बेतनालाई खुलाउने विषयमा छलफल गरिरहेका छौँ । कोरोना महामारीले बन्द भएका अन्य पर्यटकीयस्थलहरु खुलिरहेका छन् । अब बेतना खुलाउन हामी पनि पहल गरिरहेका छौँ । यहाँ पर्यटक नआउँदा कर्मचारीलाई तलब दिन गह्रो भएको छ हामीलाई । साथै,यहाँ संरक्षणका लागि राखिएका पशुपन्छीहरुलाई आहार दिन पनि समस्या हुन थालेको छ’, उनले भने ।

IMG_20201122_123112

उनले पर्यटक नआउँदा यहाँका पूर्वाधार पनि जिर्ण बन्दै गएको बताएका छन् । ‘यहाँ कर्मचारीलाई हामीले १५ दिन काम र १५ दिन घर बस्ने व्यवस्था गरेका छौँ । यसले यहाँका पूर्वाधार हामीले राम्रोसँग रेखदेख पनि गर्न सकेका छैनौँ । फलस्वरुप यहाँ रहेका बोट, फलैँचाहरु जिण बन्दै गएका छन् । कतिपय त कामै नलाग्ने गरी बिग्रिएका छन्’, उनले भने । साथै उनले कोरोना महामारीका कारण यहाँ पर्यटक नआउने र पर्यटकलाई प्रवेशको लागि हाल रोक लगाइएकाले थप समस्या भएको बताएका छन् ।

‘लकडाउन भन्दा पहिला हामीकहाँ दैनिक झण्डै सात सयको हाराहारीमा पर्यटक आउनुहुन्थ्यो । प्रतिदिन २५ हजारदेखि ३० हजारसम्म बेतनाको कमाइ थियो । वार्षिक आम्दानी ८० लाखदेखि एक करोडसम्म हुन्थ्यो । तर, अहिले यो आय शून्य छ । यसले हामीलाई ठूलो प्रभाव पारेको छ’, अध्यक्ष बस्नेतले भने । उनले बेतना बन्द हुँदा यहाँका होटल व्यवसायी पनि मारमा परेको बताए । ‘बेतना बन्द हुँदा यहाँका होटल व्यवसायीलाई पनि समस्या भएको छ । केही मानिसहरु होटलमा आए पनि पहिलाको जस्तो खचाखच छैन । यसले यहाँका होटल व्यसायी पनि समस्यामा छन्’, बस्नेतले भने ।

IMG_20201122_123621