इटहरीः स्वर्गीय गायक खेमराज गुरुङको निक्कै लोकप्रीय गीत वारी जमुना पारि जमुना जमुनाको फेदैमा मनकामनामा लिपिबद्ध भएको मनोकामना धाम संखुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर ९ मा पर्छ ।
धार्मिक आस्थासँगै पर्यटकीय दृष्टिकोणले पनि उत्तिकै महत्व रहेको मनोकामनामा पर्यटन मन्त्रालयको ५० लाख रुपैयाँको सहयोगमा धमाधम काम हुन थालेको छ । ‘मनोकामना गुरुयोजना’ नामक पञ्चवर्षीय गुरुयोजनाले मनोकामनाको मुहार फेरिने भएको छ । गुरुयोजनामार्फत् यहाँ ११ वटा विभिन्न भौतिक संरचनको निर्माण, स्तरोन्नति र पुनर्निर्माण गरिने भएको छ । मनोकामना गुरुयोजना नै बनाएर पर्यटन मन्त्रालयले दिएको बजेटबाट काम सुरु गरिएको खाँदबारी नगरपालिकाका नगर प्रमुख मुरारीप्रसाद खतिवडाले जानकारी दिए ।
उनका अनुसार यो बजेटबाट मनोकामनामा विभिन्न ११ वटा संरचना निर्माण हुने छन् । ‘हामीले यो गुरुयोजना सञ्चालन गर्न पर्यटन मन्त्रालयबाट ५० लाख बजेट प्राप्त गरेका छौँ । यही बजेटलाई आधार मानेर हामीले मनोकामना पञ्चवर्षीय गुरुयोजना तयार गरेका हौँ । मन्त्रालयले दिएको बजेटबाट हामीले गुरुयोजनाको डिपिआर तयार गर्यौँ र केही संरचना निर्माण गर्न थालेका छौँ । हामीले ११ वटा विभिन्न संरचना बनाउनेगरी गुरुयोजना बनाएका हौँ’, उनले भने ।
गत आर्थिक वर्षमा कोरोना महामारीसँगै अन्य कारणले मनोकामनामा गुरुयोजनाको काम गर्न नसकेको खतिवडाले जानकारी दिए । साथै उनले यो आर्थिक वर्षमा पर्यटन मन्त्रालय, पर्यटन बोर्ड र नगरपालिकाको समन्वयमा ३ वटा क्षेत्रमा काम भइरहेको बताए । ‘गत वर्ष हामीले कोरोना महामारी र विविध कारणले गुरुयोजना अनुरुप काम गर्न सकेनौँ । यस वर्ष पर्यटन मन्त्रालय, पर्यटन बोर्ड र नगरपालिकाले मनोकामना गुरुयोजनामा बजेट हालेर काम गर्दै छौँ । यो वर्ष मनोकामनामा ३ वटा संरचना सम्पन्न गर्ने लक्ष्य राखेका छौँ । मनोकामना धाममा रहेका गुरुकुल, मुख्य मन्दिर र यहाँ रहेको धर्मशालालाई विशेष प्राथमिकतामा राखेर हामी काम गर्दैछौ’, उनले भने ।