एजेन्सीः धनी देशहरुले कोभिडविरुद्धको सम्भावित खोप, पूरै जनसङ्ख्यामा तीन पटकसम्म लगाउन पर्याप्त हुने गरि खरिद गरिसकेको तर विकासोन्मुख मुलुकहरु चाहिँ यसमा पछि परिरहेको अन्तर्राष्ट्रिय भ्याक्सिन निरीक्षक समूहले जनाएको छ । कोरोना महामारी अन्त्य गर्न खोपको निष्पक्ष र बराबर वितरण हुन जरुरी भए पनि हालको तथ्याङ्कले विशेषगरी ६७ विपन्न मुलुकहरुमा अर्को वर्षको अन्त्यसम्म पनि, १० मध्ये एकजनाले मात्र खोप लगाउन पाउने आशा गर्न सकिने अवस्था रहेको देखाएको छ ।
विकसित मुलुकहरुले महामारी सुरु भएको सुरुवाती महिनामै अधिकतम डोजहरु सुनिश्चित गरिसकेका थिए र खोप निर्माणको काम अन्तिममा पुग्न लाग्दा थप खरिद गरेकाले अब उनीहरुसँग पूरै जनसङ्ख्यालाई खोप लगाइसक्दा पनि अझ बाँकी रहने अवस्था छ । यसरी विश्व जनसङ्ख्याको केबल १४ प्रतिशत प्रतिनिधित्व गर्ने राष्ट्रहरुले नै हाल उत्पादन भइरहेको आधाभन्दा बढी खोप खरिद गरिसकेका छन् ।
त्यसैकारण अन्तर्राष्ट्रिय खोप निरीक्षक, ‘पिपुल्स भ्याक्सिन अलायन्स’ले बुधबार औषधि कम्पनीहरुलाई तिनले प्रयोग गरिरहेका प्रविधि र बौद्धिक सम्पत्तिहरु विश्व स्वास्थ्य संगठनलाई प्रदान गर्न आग्रह गरेको छ । यसो गरेमा मात्र विश्वभरका उत्पादकहरुले प्रभावकारी खोप निर्माण गर्न सक्नेछन् र यसमार्फत आपूर्ति दर बढाउन सकिनेछ ।
त्यसैगरी अधिकतम खोप खरिद गरिसकेका देशका सरकारसँग भने गरिब मुलुकहरुलाई सकेसम्मको सहयोग गर्न र दिलाउन अपिल गरेको हो ।
पिपुल्स भ्याक्सिन अलायन्समा समावेश अक्सफामकी स्वास्थ्य नीति व्यवस्थापक एना मेरिओट भन्छिन्, “गरिब मुलुकमा भएकाले या आफ्नो खल्तीमा पैसा नभएका कारणले कोही पनि ज्यान बचाउने खोपबाट वञ्चित हुनु नपरोस् । अहिलेको अवस्थामा परिवर्तन नआए, वास्तवमै विश्वका अरबौँ मानिसहरुले आउँदा वर्षहरुमा पनि कोभिडको सुरक्षित र प्रभावकारी खोप प्राप्त गर्न सक्नेछैनन् ।”
मंगलबार मात्र बेलायत, सर्वसाधारणलाई खोप लगाउने पहिलो देश बनेको छ । बेलायतले लगाएको त्यही फाइजर खोपका ९६ प्रतिशतभन्दा बढी डोज धनी राष्ट्रहरुले किनिसकेका छन् । त्यस्तै अर्को सम्भावित खोप, अमेरिकाको मोडेर्नाका अधिकतम डोजहरु पनि धनी मुलुकहरुले खरिद गरिसकेको बताइएको छ । जस्तै क्यानडामा मात्र अहिले प्रत्येक नागरिकलाई पाँच पटकसम्म लगाउन पुग्नेगरी खोप खरिद गरिएको छ ।
यसले खरिद गरेका सबै खोप सम्भावित खोपको अग्रणी दाबेदार मानिन्छन् । यसैबीच, गरिब मुलुकहरुमा भने अवस्था ठीक विपरीत छ । विशेषगरी अलायन्सले पहिचान गरेको ६७ राष्ट्रहरु यसबाट किनारा लगाइने सबैभन्दा ठूलो जोखिममा रहेको बताइएको छ । केन्या, म्यानमार, नाइजेरिया, पाकिस्तान र युक्रेन ती मध्येका पाँच हुन् जहाँ सबैमा गरेर कूल संक्रमण सङ्ख्या १५ लाख भन्दा धेरै छ ।
एम्नेस्टी इन्टरनेशनलका आर्थिक एवम् सामाजिक न्यायका स्टिभ ककबर्न भन्छन्, “यसरी सक्नेले मात्र सबै खोप खरिद गर्नुले विश्वव्यापी रुपमा सबैको सुरक्षा सुनिश्चित गर्ने प्रयास र समान वितरणको एजेन्डामा ठूलो अवरोध ल्याउँछ । विश्वभर उत्पादित अधिकतम खोप खरिद गर्दैगर्दा धनी देशहरुले मानव अधिकार सम्बन्धी तिनको दायित्व उल्लंघन गरिरहेका छन् ।”
अहिलेसम्म विश्वका १७२ राष्ट्र विश्व स्वास्थ्य संगठनले नेतृत्व गरेको ‘कोभ्याक्स’ परियोजनामा सहभागी छन् जसको उद्देश्य कोभिडविरुद्धको प्रभावकारी खोपको पहुँच विश्वव्यापी बनाउनु हो । तर ‘ड्युक युनिभर्सिटी’ को ‘ग्लोबल हेल्थ इन्सटिटिउट’ ले गत महिना गरेको अध्ययनमा यो परियोजना अन्र्तगत अहिलेसम्म केबल २५ करोड डोज मात्र सुनिश्चित भएको पत्ता लागेको छ ।
अमेरिकाको एफडीआईले फाइजरको खोपलाई देशभर आपतकालीन प्रयोगका लागि स्वीकृति दिने सम्बन्धि बिहीबार बैठक बस्ने जानकारी दिएको छ । यदि स्वीकृत भएमा बेलायतपछि अमेरिका सर्वसाधारणमा खोप लगाउन सुरु गर्ने दोस्रो देश बन्नेछ । सीएनएन