इटहरीः प्रदेश १ हिमाल, पहाड र तराईको संगमबाट बनेकोले यहाँको समुचित विकासको लागि आफूहरु लागिपरेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।

बुधबार सुनसरीको कोसी गाउँपालिका वडा नम्बर ४ शिव चोकमा निर्माण हुन लागेको कोसी रिफ्रेसमेन्टको शिलान्यास गर्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् । उनले प्रदेश १ मा भएका विकासका सम्भवनाहरुलाई खोज्दै ती सम्भावनालाई उचित रुपमा प्रयोगमा लाउन प्रदेश सरकार लागिरहेको जानकारी दिए । ‘यो प्रदेश हिमाल, पहाड र तराईको संगममा उभिएको छ । यो प्रदेश सम्भावना नै सम्भावनले भरिपूर्ण रहेको छ । यीनै सम्भावनालाई विकासमा परिणत गर्न हामी लागिपरेका छौँ । नेपाल सङ्घीयतामा रुपान्तरण भइसकेपछि संङ्घीय, प्रदेश र स्थानीय सरकार मिलेर प्रदेश १ का सम्भावनाहरु केलाउने र ती सम्भावनाहरुको विकास कसरी गर्न सकिन्छ भनेर हामी लागिरहेका छौँ’, मुख्यमन्त्री राईले भने ।

silanyasha gardai

मुख्यमन्त्री राईले प्रदेश १ का सम्भावनाहरुलाई एक समुचित र व्यवस्थित अवधारणाबाट अगाडि बढाउन प्रदेश सरकार तल्लिन रहेको जानकारी दिए । उनले निर्माण हुन लागेका रिफ्रेसमेन्टलाई बहुप्रयोग गर्ने अवधारणका साथ अगाडि बढेको जानकारी दिए । यो परियोजनालाई प्रदेश सरकारले प्रदेशकै महत्वपूर्ण योजनाका रुपमा हेरेको मुख्यमन्त्री राईले जानकारी दिए । ‘हामीले एउटा सानो सोचका साथ यो रिफ्रेसमेन्टको अवधारणा सुरु गरेका थियौँ । तर, हामीले यसलाई एक वृहत अवधारणाका रुपमा लिएर अगाडि बढ्यौँ । यसलाई रिफ्रेसमेन्ट सेन्टरका रुपमा मात्र नभएर बहुआयामिक दृष्टिकोण र बहुप्रयोगका हिसाबले प्रदेश सरकारले काम गर्न लागेको छ’, उनले भने ।

प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको कोसी रिफ्रेसमेन्टको मुख्यमन्त्री शेरधन राई, प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुसियैत, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की र सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

silanyash