इटहरीः इलामको इलाम नगरपालिकाले चिया उत्पादनसँग जोडिएको आफ्नो पहिचान प्रवद्र्धन गर्न नगरको ७ नम्बर वडास्थित चोक बजारमा चिया मजदुर महिलाको पूर्ण कदको सालिक स्थापना गरेको छ ।

नगरको आर्थिक उन्नति र पृथक पहिचान स्थापनामा चिया मजदुरहरुको योगदानको कदर गर्दै स्थापना गरिएको सालिक नगरपालिकाका मेयर महेश बस्नेत र उपमेयर सुशीला नेम्वाङले आज संयुक्त रुपमा अनावरण गरेका छन् । शाही कालमा स्थापित राजाको सालिकको ठाउँमा नगरपालिकाले चिया मजदुरको सालिक स्थापना गरी शासकको मात्र सम्मान गर्ने प्रचलनको अन्त्य गर्दै सर्वसाधारणको सम्मान गर्ने परम्परालाई व्यवहारमा उतार्न सालिक स्थापनाले मदत पुग्ने मेयर बस्नेतको भनाइ छ ।

सर्वसाधारणको सम्मानले लोकतन्त्रप्रति जनताको लगाव बढ्ने नगरपालिकाको विश्वास छ । नेपालमा पहिलो पटक सन् १९२० मा चियाको विरुवा रोपिएको थियो । तत्कालीन बडाहाकिम गजराज सिंहले सुरु गरेको चियाको विस्तार अहिले व्यापक भएको छ ।